२०८३, २४ कार्तिक मंगलबार

माछा व्यापारी र भन्सार कर्मचारी बीच सेटिङको चर्चा, पटक पटक पक्राउ परेकालाई जरिवानामा सहुलियत

माछा व्यापारी र भन्सार कर्मचारी बीच सेटिङको चर्चा, पटक पटक पक्राउ परेकालाई जरिवानामा सहुलियत


वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवामा रहेको सुरज फिस सप्लायर्सको माछा बोकेका मिनी ट्रक पटक–पटक पक्राउ पर्न थालेपछि वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया, राजस्व असुली तथा कर्मचारीको संदिग्ध गतिविधीले गम्भीर प्रश्न उठाएको छ ।
निरन्तर रुपमा माछा ढुवानीका गाडी फरक–फरक समयमा नियन्त्रणमा पर्दा दुवै घटनामा भन्सार घोषणाभन्दा बढी माछा भेटिएको विवरण सार्वजनिक भएपछि भन्सार कर्मचारीको काम गराईमाथि गंभीर प्रश्न उठाएको छ ।
पछिल्लो समय भन्सार जाँचपास प्रक्रियामा नरन्तर सेटिङको समाचार बाहिर आएका बेला माछा ओसार पसारमा प्रयोग भएका गाडी पक्राउ परेपछि व्यवसायी र कर्मचारी बीचको मिलेमतोमा जे पनि हुनेरहेछ भन्ने प्रष्ट पारेको छ ।
यसअघि माछा बोकेको मिनी ट्रकमा गरिएको जाँचका क्रममा भन्सार घोषणामा ९६ बाक्सा माछा उल्लेख गरिएकोमा वास्तविक जाँच गर्दा १४४ बाक्सा फेला परेको थियो । अर्थात् घोषणाभन्दा ४८ बाक्सा बढी माछा भेटिएको थियो। सोही गाडीमा माछासँगै पटाका पनि बरामद भएको थियो ।
प्रहरीले कात्तिक १८ गते उक्त गाडी नियन्त्रणमा लिएर कात्तिक १९ गते थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाएको थियो । पहिलो घटनामा भन्सार कार्यालयले ७ लाख ४५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

पहिलो घटना सार्वजनिक भएको केही दिनपछि गत शुक्रबार राति सशस्त्र प्रहरीले सुरज फिस सप्लायर्ससँग सम्बन्धित माछा बोकेको भारतीय नम्बर प्लेटको अर्को मिनी ट्रक नियन्त्रणमा लिएको थियो ।
दोस्रो घटनामा वीरगञ्ज भन्सार कार्यालयले ३ लाख ४२ हजार १३ रुपैयाँ जरिवाना असुल गर्नुका साथै ४० बाक्सा माछा जफत गरेको विवरण सार्वजनिक सार्वजनिक भएपछि यो प्रकरण वर्षोदेखी चल्दै आएको आशंका गरिएको छ ।
जरिवानमा मनलाग्दी ?
यता राजस्व अधिकारीहरुले दोस्रो घटनामा २ सय प्रतिशतसम्म जरिवाना गरिनुपर्नेमा १ सय प्रतिशत मात्रै जरिवाना गरिएको व्यापारीहरूको दाबी छ । पहिलो घटनामा ७ लाख ४५ हजार रुपैयाँ र दोस्रो घटनामा ३ लाख ४२ हजार १३ रुपैयाँ जरिवाना निर्धारण हुनुको कानुनी आधार के हो भन्ने प्रश्नसमेत उनीहरूले उठाएका छन् । तिहार बिदाका कारण यस विषयमा बुझ्‌न खोज्दा भन्सार अधिकृतले फोन उठाएनन् ।
व्यापारीहरूका अनुसार एउटै व्यवसायीसँग सम्बन्धित गाडी पटक–पटक उस्तै प्रकृतिको अनियमिततासहित पक्राउ पर्नु र जरिवाना मनलाग्दी लिइनुले सामान्य त्रुटिभन्दा बाहिरको विषय हुन सक्ने आशंका गरिएको छ ।
यद्यपि, भन्सार कर्मचारीको मिलेमतो वा आर्थिक लेनदेन भएको भन्ने विषय अहिलेसम्म स्वतन्त्र अनुसन्धानबाट पुष्टि भएको छैन । त्यसैले आरोपको सत्यतथ्य निष्पक्ष छानबिनबाट सार्वजनिक हुन आवश्यक छ ।

माछा व्यापारीलाई किन सहुलियत ?
भन्सारमा वस्तुको गलत घोषणा, राजस्व छल्ने प्रयास तथा गैरकानुनी रूपमा सामान ओसारपसार गरेको पाइएमा कसुरको प्रकृतिअनुसार प्रचलित कानुनबमोजिम कारबाही हुने व्यवस्था छ ।
त्यसैले दोस्रो घटनामा भन्सार कार्यालयले कुन दफा र उपदफा प्रयोग गरी ३ लाख ४२ हजार १३ रुपैयाँ जरिवाना निर्धारण गर्‍यो? २०० प्रतिशत जरिवाना लाग्ने कसुर थियो वा थिएन? ४० बाक्सा माछा कुन कानुनी आधारमा जफत गरियो ? यी विषय भन्सार कार्यालयले स्पष्ट पार्नुपर्ने देखिन्छ ।
पहिलो घटनामा ९६ बाक्सा घोषणा गरिएकोमा १४४ बाक्सा माछा भेटिएको र पटाका समेत बरामद भएको अवस्थामा दुवै घटनाको कारबाही प्रक्रिया, मूल्यांकन तथा जरिवाना निर्धारणको आधार सार्वजनिक गर्नु आवश्यक छ ।
भन्सार जाँचपासमा संलग्न कर्मचारीको भूमिका पनि अनुसन्धानको दायरामा आउनुपर्छ । स्थानीय व्यवसायीहरुले भनेः भन्सार कर्मचारीहरुले माछा व्यापारीलाई किन सहुलियत जरिवाना गरे ?
माछा बोकेका गाडी पटक–पटक पक्राउ पर्नुले भन्सार जाँचपासमा संलग्न कर्मचारीको भूमिकामाथि पनि गंभीर प्रश्न उठाएको छ ।
भन्सारमा गाडी पुग्दा कसले जाँच गरेको थियो? घोषणामा उल्लेख गरिएको परिमाणभन्दा बढी माछा कसरी भित्रियो? पहिलो घटना सार्वजनिक भएपछि सम्बन्धित व्यवसायी र ढुवानीका साधनमाथि निगरानी गरिएको थियो कि थिएन ? दोस्रो घटनामा जरिवाना निर्धारण गर्दा कुन कानुनी आधार अपनाइयो ? यस्ता गंभीर प्रश्नको जवाफ सम्बन्धित निकायले दिन जरुरी देखिएको छ ।
यदि कुनै कर्मचारीले जानाजानी गलत विवरण सदर गरेको, राजस्व चुहावटमा सहयोग गरेको वा आर्थिक लाभ लिएर गैरकानुनी जाँचपास गराएको प्रमाणित भएमा संलग्न जोसुकैलाई प्रचलित कानुनअनुसार कारबाही गरिनुपर्छ ।
अर्थ मन्त्रालय र भन्सार विभागको ध्यानाकर्षण
भन्सार कार्यालय राज्यको राजस्व संकलन गर्ने महत्वपूर्ण निकाय हो । त्यहाँ हुने सम्भावित अनियमितताले राज्यको राजस्वमा क्षति पुर्‍याउनुका साथै इमानदार व्यवसायीलाई समेत निरुत्साहित गर्न सक्छ ।
त्यसैले अर्थ मन्त्रालय र भन्सार विभागले सुरज फिस सप्लायर्ससँग सम्बन्धित दुवै घटनाको फाइल झिकाएर निष्पक्ष छानबिन गर्न आवश्यक देखिन्छ ।
दुवै गाडीको भन्सार घोषणा विवरण, वास्तविक परिमाण, मूल्यांकन, जरिवाना निर्धारणको कानुनी आधार, जफत गरिएको माछाको अभिलेख तथा जाँचपासमा संलग्न कर्मचारीको भूमिकाबारे स्पष्ट विवरण सार्वजनिक गरिनुपर्छ ।
एउटै व्यवसायीसँग सम्बन्धित गाडी पटक–पटक पक्राउ पर्नु सामान्य विषय होइन । यस घटनालाई केवल जरिवाना असुल गरेर टुंग्याउनेभन्दा पनि भन्सार जाँचपास प्रणालीमा कहाँ र कसरी कमजोरी भयो भन्ने विषयको गहिरो अनुसन्धान हुन आवश्यक छ ।
सरकारले घोषणा गरेको सुशासन र भ्रष्टाचारविरुद्धको प्रतिबद्धता भाषणमा मात्र सीमित नभई भन्सारको जाँचपास, राजस्व असुली र कर्मचारीको जवाफदेहितामा समेत देखिनुपर्छ ।
सुरज फिस सप्लायर्ससँग सम्बन्धित दुवै घटनाको वास्तविकता सार्वजनिक गर्न वीरगञ्ज भन्सार कार्यालय, भन्सार विभाग र अर्थ मन्त्रालयको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति : २०८३, २४ कार्तिक मंगलबार  १२ : ३८ बजे

माछा व्यापारी र भन्सार कर्मचारी बीच सेटिङको चर्चा, पटक पटक पक्राउ परेकालाई जरिवानामा सहुलियत

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवामा रहेको सुरज फिस सप्लायर्सको माछा

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला हङ्कङ निर्यात

चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला

रसुवाका पिडित वालबालिकालाई लायन्स क्लवको शैक्षिक सामाग्री सहयोग

नुवाकोट। रसुवाको बिनासकारी बाढी पहिरोमा परि विद्यालय जान नसकिरहेका वालवालिकालाई

आईजीपी प्रकरणसहित समसामयिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक