काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३ सुरु भएको छ। एक्स्पो उद्घाटन गर्दै प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले घरजग्गा क्षेत्रका समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।
‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नारासहित सुरु भएको चारदिने एक्स्पोमा घरजग्गा, आवास तथा निर्माण क्षेत्रसँग सम्बन्धित १०० भन्दा बढी स्टल राखिएका छन्। सभामुख अर्यालले रियल इस्टेट व्यवसायीको प्रमुख समस्याका रूपमा रहेको जग्गा हदबन्दीलगायत विषयमा सरकारसँग समन्वय गर्ने बताए। ठूला व्यवसायीका साथै साना व्यवसायी र दूरदराजका नागरिकका समस्या पनि सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले घरजग्गा क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै गैरआवासीय नेपालीसहित विदेशीलाई नेपालमा अपार्टमेन्ट खरिद गर्न सहज हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे।
नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दीपक कुँवरले हदबन्दी र कित्ताकाटको दीर्घकालीन समाधान आवश्यक रहेको बताए। बाढीबाट विस्थापित नागरिकको पुनर्वास तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको उनले बताए।
महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले दर्तावाल रियल इस्टेट कम्पनीलाई हदबन्दी छुट, लोन–टु–भ्यालु रेसियो ८० प्रतिशत पुर्याउनुपर्ने तथा रु. ३ करोडसम्मको घरजग्गा खरिदमा स्वघोषित आम्दानीको स्रोतलाई मान्यता दिनुपर्नेलगायत माग अघि सारे।
एक्स्पोमा वास्तुशास्त्र, विपद् उत्थानशील पूर्वाधार, बाढीपीडित पुनर्वास र सार्वजनिक–निजी साझेदारीमार्फत एकीकृत आवास विकासबारे सेमिनार तथा प्यानल छलफलसमेत आयोजना गरिने आयोजकले जनाएको छ।
एक्स्पो असोज १ देखि ४ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ।







प्रतिक्रिया