ताप्लेजुङ । कुनै समय गाउँघरको दैनिकीसँग जोडिएको चोयाको डालो अहिले बजारमा प्लास्टिकका सामग्रीले विस्थापित गर्न थालेका छन्। ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा भने स्थानीय उद्यमीले मालिङ्गोको चोयाबाट हातैले बुनेका डालोलगायत घरेलु सामग्री बिक्रीका लागि राखेका छन्।

अन्नपात, घाँसपात तथा अन्य सामग्री राख्न र एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न प्रयोग हुने डालो नेपाली ग्रामीण जीवनको पुरानो चिनारी हो। स्थानीय स्रोतसाधन र परम्परागत सीप प्रयोग गरेर बनाइने यस्ता सामग्री वातावरणमैत्रीसमेत मानिन्छन्।
तर आधुनिक बजारमा प्लास्टिक तथा अन्य कृत्रिम सामग्रीको प्रयोग बढ्दै जाँदा चोयाका डालो र यस्तै मौलिक हस्तकलाको माग घटिरहेको छ। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको चोया बुन्ने सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा परम्परागत प्रविधि नै हराउने जोखिम बढेको स्थानीय उद्यमीहरू बताउँछन्।

स्थानीय उत्पादनको प्रवर्द्धन, बजारको सुनिश्चितता र नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्न सके चोयाबाट बनेका सामग्रीले रोजगारी र आम्दानीको माध्यम बन्नुका साथै नेपालको मौलिक हस्तकलाको पहिचानसमेत जोगाउन सक्ने देखिन्छ।








प्रतिक्रिया