काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ पूर्ण बैठक आजदेखि सुरु भएको छ। बैठकले बदलिँदो राजनीतिक परिस्थितिबीच पार्टीको संगठनात्मक सुदृढीकरण, जनपरिचालन र आगामी राजनीतिक रणनीति तय गर्ने मुख्य एजेन्डामा केन्द्रित भएर छलफल अघि बढाएको छ।
एमालेका केन्द्रीय सचिव तथा बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा भइरहेको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक अवस्था, जिल्लामा पार्टी संगठनको अवस्था, जनाधार विस्तार तथा आगामी कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा गहन समीक्षा भइरहेको छ।
बैठकमा संगठनलाई वडादेखि जिल्ला तहसम्म थप सक्रिय र चलायमान बनाउने, पार्टीका अभियानलाई जनस्तरसम्म पुर्याउने तथा समसामयिक राजनीतिक चुनौतीको सामना गर्ने रणनीतिबारे नेताहरूले धारणा राखिरहेका छन्।
बैठकमा एमालेका केन्द्रीय सदस्य अमित लामा, अशोक व्यञ्जु, बागमती प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामा सहित जिल्ला, प्रदेश र स्थानीय तहका नेताहरूको सहभागिता रहेको छ।

जिल्ला अध्यक्ष राजन भुर्तेलको अध्यक्षतामा भइरहेको बैठकमा उनले वर्तमान राजनीतिक परिवेशमा एमाले काभ्रेले निर्वाह गर्नुपर्ने नेतृत्वदायी भूमिका, संगठनलाई थप सशक्त बनाउने योजना तथा जनतासँग पार्टीको सम्बन्ध अझ मजबुत बनाउने कार्ययोजना प्रस्तुत गरेका छन् ।
बैठकबाट संगठनात्मक अनुशासन, राजनीतिक सक्रियता र आगामी अभियानलाई प्रभावकारी बनाउने विषयमा महत्त्वपूर्ण निर्णय हुने एमाले काभ्रेले जनाएको छ।








प्रतिक्रिया