२०८३, ६ असार आईतबार

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो


सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ । कमलामाई नगरपालिको आयोजनामा भएको दुई दिने “सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम” स्थानीय तहमा सुशासन प्रवद्र्धन गर्ने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।
स्थानीय सरकारको सफलता केवल विकास निर्माणका योजनाको संख्या वा बजेटको आकारले मात्र निर्धारण हुँदैन । ती योजनाहरू कति पारदर्शी, प्रभावकारी र कानुनसम्मत ढंगले कार्यान्वयन गरिएका छन् भन्ने विषयले उक्त तालिममा महत्व राखेको प्रमुख प्रशासकिय अधिकृत किरण नीधि तिवारीले बताए ।
नगर प्रमुख उपेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सञ्चालन भएको उक्त तालिममा सार्वजनिक खरिद व्यवस्थापन, वित्तीय अनुशासन, प्रचलित कानुनी व्यवस्था तथा पारदर्शी सेवा प्रवाहका विषयमा प्रशिक्षण दिइएको थियो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक जिल्ला अधिकारी, नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख, प्रशासन शाखा प्रमुख तथा आन्तरिक लेखा परीक्षण प्रमुखले सहभागीहरूलाई सम्बन्धित विषयमा सहजीकरण गर्नुभएको सूचना अधिकारी सागरकुमार ढकालले जानकारी दिए ।
नेपालमा सार्वजनिक खरिद प्रणाली विकास निर्माण र सेवा प्रवाहसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । स्थानीय तहले सडक, भवन, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका कार्यक्रम कार्यान्वयन गर्दा सार्वजनिक खरिद प्रक्रियाको पालन गर्नुपर्छ । यस प्रक्रियामा हुने सानो त्रुटिले पनि योजना कार्यान्वयनमा ढिलाइ, आर्थिक क्षति वा विवाद सिर्जना गर्न सक्छ । त्यसैले सार्वजनिक खरिदसँग सम्बन्धित कर्मचारी तथा जिम्मेवार अधिकारीहरूलाई कानुनी र प्राविधिक ज्ञान प्रदान गर्नु आवश्यक मानिन्छ ।
संविधानले स्थानीय तहलाई विकास निर्माण तथा सेवा प्रवाहका व्यापक अधिकार दिएको छ । अधिकारसँगै जवाफदेहिता पनि बढेको छ । नागरिकले स्थानीय सरकारबाट पारदर्शी, छिटो र गुणस्तरीय सेवा अपेक्षा गरेका हुन्छन् । यस्तो अवस्थामा सार्वजनिक खरिद प्रक्रियालाई प्रतिस्पर्धात्मक, पारदर्शी र कानुनसम्मत बनाउन सक्नु स्थानीय सरकारको प्रमुख जिम्मेवारी हो ।
सार्वजनिक खरिद प्रणाली प्रभावकारी भएमा सार्वजनिक बजेटको अधिकतम सदुपयोग गर्न सकिन्छ। यसले विकास निर्माणको गुणस्तर सुधार गर्नुका साथै भ्रष्टाचार तथा अनियमितताको सम्भावना पनि कम गर्छ । वित्तीय अनुशासन कायम गर्न, खर्च प्रक्रियालाई व्यवस्थित बनाउन र सार्वजनिक स्रोत–साधनको मितव्ययी उपयोग सुनिश्चित गर्न यस्ता तालिम उपयोगी हुने विश्वास गरिएको नगरप्रमुख पोखरेलको भनाई थियो ।
तालिमका क्रममा सार्वजनिक खरिद ऐन तथा नियमावलीका प्रावधान, खरिद योजनाको तयारी, बोलपत्र प्रक्रिया, सम्झौता व्यवस्थापन, वित्तीय उत्तरदायित्व तथा लेखा परीक्षणका विषयमा समेत जानकारी प्रदान गरिएको थियो । यसले सहभागीहरूलाई व्यवहारिक रूपमा काम गर्दा आइपर्ने जटिलताहरू समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कमलामाई नगरपालिकाले पछिल्ला वर्षहरूमा शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रमको सफल कार्यान्वयनका लागि सार्वजनिक खरिद प्रणाली सक्षम र विश्वसनीय हुनु आवश्यक छ । तालिमले कर्मचारी तथा सरोकारवालाहरूको क्षमता अभिवृद्धि गरी विकास योजनाहरूलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
सहभागीहरूले पनि तालिमले सार्वजनिक खरिद प्रक्रियालाई थप व्यवस्थित, उत्तरदायी र पारदर्शी बनाउन सहयोग पुग्ने बताएका छन् । सार्वजनिक स्रोत–साधनको कानुनसम्मत उपयोग र सुशासन प्रवद्र्धनमा यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
समग्रमा हेर्दा कमलामाई नगरपालिकाले आयोजना गरेको सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम केवल एक औपचारिक कार्यक्रम मात्र होइन, सुशासन, पारदर्शिता र उत्तरदायी प्रशासन निर्माणतर्फको महत्वपूर्ण कदम हो । सार्वजनिक धनको सही व्यवस्थापन र विकास निर्माणको गुणस्तर सुधारका लागि यस्ता क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिन सके स्थानीय सरकारप्रतिको नागरिक विश्वास अझ सुदृढ बन्ने आयोजकले अपेक्षा गरेको छ । (साभारः कमलामाई लेखमाला)

प्रकाशित मिति : २०८३, ६ असार आईतबार  ५ : ३६ बजे

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक