काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन शाहले सीमा विवादसम्बन्धी प्रश्नको जवाफ दिने क्रममा दिएको अभिव्यक्तिप्रति संयुक्त युवा सङ्गठनहरूले कडा आपत्ति जनाउँदै तत्काल राजीनामासम्मको माग गरेका छन्।
जेठ १७ गते संसदको रोष्टमबाट बोल्दै प्रधानमन्त्री शाहले “नेपालले पनि भारतको जमिन मिचेको छ” भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै युवा सङ्गठनहरूले त्यसलाई “राष्ट्रिय हित, ऐतिहासिक तथ्य र नेपालको स्थापित कूटनीतिक अडानविपरीत” रहेको आरोप लगाएका छन्। संयुक्त युवा सङ्गठनहरूले जारी गरेको विज्ञप्तिमा उक्त अभिव्यक्ति “अत्यन्तै गैरजिम्मेवार, आपत्तिजनक तथा राष्ट्रिय स्वाभिमानमाथिको चोट” भएको उल्लेख गर्दै यसले सीमा मुद्दामा नेपालको दीर्घकालीन अडान कमजोर पार्ने खतरा रहेको दाबी गरिएको छ।
संयुक्त विज्ञप्तिमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महाराज गुरुङ, वाइसीएल नेपालका अध्यक्ष पुष्प ओली, युवा संघ नेपालका संयोजक धर्म शाही तथा नेपाल समाजवादी युवा संघका प्रतिनिधि विजय खड्कालगायतको संयुक्त हस्ताक्षर रहेको जनाइएको छ। त्यसैगरी, सरकारको सुकुम्बासी व्यवस्थापन नीति, बजेट वितरणमा निम्न तथा निम्नमध्यम वर्गप्रति उपेक्षा, शिक्षा-स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधारको अभाव र कर-महशुलको बढ्दो भारप्रति पनि उनीहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। युवा सङ्गठनहरूले प्रधानमन्त्री शाहलाई तत्काल सार्वजनिक स्पष्टिकरण दिन, गल्ती स्वीकार गर्न र आवश्यक परे राजनीतिक तथा नैतिक जिम्मेवारी वहन गर्दै राजीनामा दिनसमेत आग्रह गरेका छन्।
साथै, सम्पूर्ण युवाहरूलाई “राष्ट्रहित र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि” सडकदेखि सामाजिक सञ्जालसम्म संगठित प्रतिवादमा उत्रिन आह्वान गरिएको छ। राष्ट्रहितभन्दा माथि कुनै पद हुँदैन” भन्दै संयुक्त युवा सङ्गठनहरूले आन्दोलनको चेतावनी समेत दिएका छन्।








प्रतिक्रिया