काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार संयोजक मीनबहादुर शाही ले जेनजी आन्दोलनका जायज मागहरूको आफ्नो पार्टीले विरोध नगरेको दाबी गरेका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाहीले जेनजी आन्दोलनका क्रममा भएका हिंसा, आगजनी र विध्वंसका घटनाको मात्रै एमालेले विरोध गरेको स्पष्ट पारे।
‘जेनजी पुस्ताले सुशासन, भ्रष्टाचार न्यूनीकरण र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने जुन कुरा उठाएका थिए, त्यो त हामीले सुरुवात गरिसकेका थियौँ,’ शाहीले भने, ‘त्यसकारण भ्रम नपरोस जेन्जी पुस्ताले उठाएका जायज रूपान्तरणका मागमा एमालेले विरोध गरेको छैन।’
शाहीका अनुसार एमालेले हिंसा, आगजनी र दण्डहीनताको सधैँ विरोध गर्दै आएको छ। ‘हामीलाई हिंसा स्वीकार्य छैन। हामीलाई विध्वंस स्वीकार्य छैन। हामीलाई दण्डहीनता किमार्थ स्वीकार्य छैन,’ उनले भने।
राज्यका सम्पत्ति क्षतिग्रस्त पार्ने र जेल तोड्ने जस्ता गतिविधिको एमालेले जहिल्यै विरोध गर्ने उनले बताए। ‘हामीले भनेको विषय त्यो हो। सिंहदरबार जलाउने, प्रतिनिधिसभा जलाउने, नख्खु जेल तोड्ने-जे कुरा भए भन्ने हिसाबमा मुलुक जलाउने कुराको विरोध गरेका हौँ,’ शाहीले भने।






प्रतिक्रिया