काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता र स्वाधीनता संकटमा परेको दाबी गर्दै आन्दोलनको तयारीमा जुट्नुपर्ने बताएका छन्। सरकारमाथि राज्य आतंक र गुण्डाराजलाई प्रश्रय दिएको आरोप लगाउँदै उनले देशलाई संकटबाट निकाल्ने जिम्मेवारी एमालेको काँधमा आएको जिकिर गरे।
मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मनोनीत तीन केन्द्रीय सदस्यलाई शपथ गराउँदै ओलीले अहिलेको अवस्थालाई थप बिग्रन दिन नहुने बताए। उनका अनुसार देशले आफ्नै स्वतन्त्रता र स्वाधीनताको अभ्यास गर्न सक्ने अवस्था सुनिश्चित गर्न आन्दोलन आवश्यक भएको छ।
‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ,’ ओलीले भने। उनले नागरिकले खुलेर बोल्न नसक्ने अवस्था सिर्जना भएको आरोप लगाउँदै सरकार बेलगाम रूपमा फासीवादतर्फ अघि बढिरहेको टिप्पणी गरे।
एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई लक्ष्य बनाएर अघि बढिरहेको उल्लेख गर्दै ओलीले वर्तमान संकटबाट देशलाई पार लगाउन पार्टी एकताबद्ध र अनुशासित हुनुपर्ने बताए। सही नीति र विचारका आधारमा अघि बढे मात्रै कार्यकर्तामा उत्साह भर्ने र जनतामाझ पार्टीको आकर्षण पुनः स्थापित गर्न सकिने उनको भनाइ थियो।
गत फागुन २१ मा सम्पन्न निर्वाचनलाई ओलीले ‘प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला’को संज्ञा दिए। एमाले सत्य, न्याय, देश र जनताको पक्षमा रहेको दाबी गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा केन्द्रीय सदस्यमा मनोनीत इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ लिए। महासचिव शंकर पोखरेलले सञ्चालन गरेको कार्यक्रममा उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, विष्णु रिमाल र डा. विजय सुब्बालगायत नेताहरू सहभागी थिए।







प्रतिक्रिया