काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष रोकिएको छैन। गगन थापा नेतृत्वको नयाँ कार्यसमिति आइसकेपछि पूर्वसभापति शेरबहादुर देउवा समूहले छुट्टै महाधिवेशनको तयारी तीव्र पारेको छ। संस्थापन पक्षले एकपक्षीय रूपमा महाधिवेशन गरेको आरोप लगाउँदै देउवा समूह आफ्नै संगठनात्मक प्रक्रियामा अघि बढेपछि कांग्रेसभित्रको विवाद थप चर्किने संकेत देखिएको छ।
देउवा समूहका नेता गुरु बरालका अनुसार मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी छ। मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाइएको छ। बाढीपहिरोका कारण केही स्थानमा अधिवेशन प्रभावित भए पनि केन्द्रीय महाधिवेशनको मिति नसार्ने उनको दाबी छ।
बरालका अनुसार ६ हजार १०० वडा, ४९७ पालिका र ११६ क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका छन्। अहिले जिल्ला अधिवेशन चलिरहेको छ। देउवा समूहले आफ्नो पक्षमा उत्साहपूर्ण सहभागिता रहेको दाबी गर्दै संस्थापन पक्षमा चुनाव हारेका र असन्तुष्ट नेता–कार्यकर्तालाई समेत तान्ने रणनीति बनाएको छ।
सहमति टाढिँदै, शक्ति परीक्षण नजिकिँदै
संस्थापन पक्षको महाधिवेशनलाई अस्वीकार गर्दै छुट्टै महाधिवेशन अघि बढाउनु देउवा समूहका लागि संगठनात्मक शक्ति देखाउने अवसर बनेको छ। तर यसले कांग्रेसभित्रको विवाद समाधान गर्नुको सट्टा समानान्तर संरचनालाई बलियो बनाउने जोखिम पनि बढाएको छ।
अब देउवा समूहको परीक्षा निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नु र आफ्नो पक्षमा वास्तविक समर्थन जुटाउनु हो। संस्थापन पक्षसँग सहमतिको बाटो खुल्छ वा कांग्रेसको आन्तरिक विवाद थप गहिरिन्छ भन्ने प्रश्न भने अनुत्तरित छ।







प्रतिक्रिया