२०८२, १६ चैत्र मंगलबार

मेचे समुदायबाट पहिलोपटक राष्ट्रिय सभामा रोश्नी मेचे

मेचे समुदायबाट पहिलोपटक राष्ट्रिय सभामा रोश्नी मेचे

मेचे समुदायकी पहिलो महिला, अनुभव र शिक्षा लिएर राष्ट्रिय सभामा प्रवेश


विराटनगर । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा रोश्नी मेचे निर्वाचित भएकी छन्। नेपालकै अति सीमान्तकृत तथा लोपोन्मुख मेचे समुदायबाट देशको माथिल्लो सदन (राष्ट्रिय सभा) पुग्ने उनी पहिलो महिला बनेकी छन्।

नेकपा एमालेको तर्फबाट महिला कोटामा उम्मेदवार बनेकी मेचे नेपाली कांग्रेस–एमालेबीचको चुनावी समीकरणका कारण सहज जित निकाल्न सफल भइन्। निर्वाचनमा उनले ७ हजार १७३ मत प्राप्त गरिन् भने प्रतिस्पर्धी नेकपा उम्मेदवार नमिता न्यौपानेले २ हजार २६८ मत प्राप्त गरेकी थिइन्।

छ वर्षे कार्यकालका लागि निर्वाचित रोश्नी मेचे मनोनयन दर्ताअघि नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत थिइन्। ओली प्रधानमन्त्री हुँदा उनको स्वकीय सचिवालयमा काम गर्ने उनी एक्ली महिला थिइन्।

रोश्नी मेचे ११औँ राष्ट्रिय महाधिवेशनका बेला आफ्नै पार्टीको महाधिवेशन प्रतिनिधि बन्नबाट वञ्चित भएकी पात्र पनि हुन्। एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघकी केन्द्रीय सदस्य रहेकी उनलाई सदस्यता अवधि नपुगेको भन्दै महाधिवेशन प्रतिनिधि बन्न रोकिएको थियो। सोही कारण उनी त्यतिबेला केन्द्रीय कमिटी सदस्य बन्नसमेत पाइनन्।

तर पार्टी नेतृत्व र सरकारको काम नजिकबाट बुझ्ने अवसर पाएकी रोश्नीलाई अध्यक्ष ओलीले राष्ट्रिय सभा सदस्यका रूपमा अघि सारेका हुन्। सचिवालयमा रहेर सत्ता सञ्चालन, नीति निर्माण प्रक्रिया र राजनीतिक निर्णय प्रणालीको अनुभव बटुलेको उनको राजनीतिक यात्रामा यो महत्वपूर्ण मोड मानिएको छ।

झापा जिल्लाको मेचीनगर–१२ (साविक धाइजन) मा जन्मिएकी रोश्नी मेचे सीमित भौगोलिक क्षेत्रमा मात्र बसोबास गर्दै आएको मेचे समुदायकी प्रतिनिधि हुन्। मेचे समुदाय झापाका मेचीनगर, बिर्तामोड, हल्दिबारी र कचनकबल क्षेत्रमा बसोबास गर्दै आएको छ। यो समुदाय राज्यबाट सामाजिक सुरक्षा भत्ता पाउने अति सीमान्तकृत समुदायमा सूचीकृत छ।

शैक्षिक रूपमा पनि रोश्नी मेचेको पृष्ठभूमि मजबुत रहेको छ। उनले २०५५ सालमा बलभद्र माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेकी हुन्। समाजशास्त्रमा स्नातकोत्तर गरेकी उनले कानुनमा स्नातक उपाधि हासिल गरेकी छन् र पेशाले अधिवक्तासमेत हुन्।

निर्वाचनपछि प्रतिक्रिया दिँदै रोश्नी मेचेले राष्ट्रिय सभामा नयाँ र पुरानो पुस्ताबीचको अन्तरलाई पूर्ति गर्ने बताइन्। “अनुभव बोकेको पुरानो पुस्ता र जेन–जी पुस्ताको भावना जोडेर नीति निर्माणमा योगदान दिनेछु,” उनले भनिन्।

उनले अल्पसंख्यक, सीमान्तकृत र लोपोन्मुख समुदायका मुद्दालाई संसद्मा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरिन्। “म केवल आफ्नो समुदायको मात्र होइन, सबै उत्पीडित वर्ग र समुदायको आवाज राष्ट्रिय सभामा पुर्‍याउनेछु,” उनले बताइन्।

मेचे समुदायबाट राष्ट्रिय सभामा पहिलोपटक प्रतिनिधित्व हुनु समावेशी लोकतन्त्र र प्रतिनिधिमूलक राजनीतितर्फको महत्वपूर्ण उपलब्धि भएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ। रोश्नी मेचेको निर्वाचित हुनुले सीमान्तकृत समुदायका महिलालाई राष्ट्रिय राजनीतिमा अघि बढ्न थप प्रेरणा दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, १२ माघ आईतबार  ७ : ३७ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक