काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा पलायनले मुलुकको विकास र समृद्धिमा चुनौती थप्ने बताउनुभएको छ। उहाँले विदेशमा रहेका नेपालीको सीप, ज्ञान, प्रविधि, पुँजी र पसिनालाई स्वदेशको विकासमा उपयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ।
मुख्यमन्त्री थापा मगरले नेपाली नागरिक विश्वको जुनसुकै कुनामा रहे पनि उनीहरूको प्रतिष्ठा राष्ट्रको प्रतिष्ठासँग जोडिने उल्लेख गर्दै विदेश बस्दैमा देशसँगको सम्बन्ध नटुट्ने बताउनुभयो। ‘नेपाली विश्वमा जहाँ रहे पनि नेपालीमूलको भन्ने नै हुन्छ, त्यसैले राष्ट्रको प्रतिष्ठासँग नेपालीको प्रतिष्ठा पनि सँगै जोडिएको हुन्छ,’ उहाँले भन्नुभयो। उहाँले रोजगारी, अध्ययन तथा अन्य कारणले विदेशमा रहेका नेपालीलाई देशबाट टाढिएको रूपमा मात्र हेर्न नहुने धारणा व्यक्त गर्नुभयो। विदेशमा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्न सके मुलुकले ठूलो लाभ लिन सक्ने उहाँको भनाइ छ। ‘मुलुक स्थायी वा अस्थायी रूपले छोड्दैमा देशसँगको सम्बन्ध तोडिन सक्दैन र तोडिएको पनि हुँदैन,’ मुख्यमन्त्री थापा मगरले भन्नुभयो।
उहाँले विदेशमा रहेका नेपालीको सीप, जाँगर र पसिनाको सदुपयोग गर्न राज्यले प्रभावकारी नीति र अनुकूल वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। विदेशमा सिकेको प्रविधि, आर्जन गरेको पुँजी र प्राप्त गरेको अनुभव स्वदेशमा उपयोग गर्न सके उत्पादन, रोजगारी र आर्थिक समृद्धिमा योगदान पुग्ने उहाँको धारणा छ। युवा जनशक्ति विदेशिने क्रम बढ्दा मुलुकको उत्पादनशील क्षमता र विकासमा असर पर्न सक्ने उल्लेख गर्दै उहाँले युवालाई स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने सन्देश दिनुभयो।
‘अब विदेशमा रहेका नेपालीहरूको सीप, जाँगर र पसिनाको प्रयोग हाम्रो देशले गर्न सक्नुपर्छ, युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ मात्र लैजान्छ,’ उहाँले भन्नुभयो। मुख्यमन्त्री थापा मगरको अभिव्यक्तिले विदेशमा रहेका नेपालीको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्ने तथा स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ।







प्रतिक्रिया