काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक माघ १ गते बस्ने भएको छ। बैठक ललितपुरको कुपन्डोलस्थित स्थानमा बिहान ११ बजे सुरु हुने महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको यो पहिलो औपचारिक बैठक हो। बैठकमा विशेष महाधिवेशनको समग्र समीक्षा, भावी राजनीतिक कार्यदिशा तथा संगठनात्मक विषयमा छलफल हुने बताइएको छ।
बैठकपछि विशेष महाधिवेशनको नतिजा र नयाँ नेतृत्वसम्बन्धी विवरण अद्यावधिक गर्न कांग्रेसको गगन पक्षीय टोली निर्वाचन आयोग जाने तयारीमा छ। अधिवक्ता राजु कटवालका अनुसार बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म आयोगमा उपस्थित भई आवश्यक कागजात र अभिलेख पेश गरिनेछ।
विशेष महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएकाले पार्टीको आधिकारिक अभिलेख अद्यावधिक गर्न आयोग जाने प्रक्रिया अघि बढाइएको उनले बताए। विशेष महाधिवेशनका कागजात तथा दस्तावेजीकरण कार्यमा कटवालसहितको टोलीले सहजीकरण गरिरहेको छ।






प्रतिक्रिया