२०८३, ३० असार बुधबार

म्युचुअल फन्डले नै घाटा खाएर बेचे सोनापुर सिमेन्टको सेयर

म्युचुअल फन्डले नै घाटा खाएर बेचे सोनापुर सिमेन्टको सेयर


काठमाडौं । प्राथमिक निष्कासन (आईपीओ) मा प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा किनेको सोनापुर मिनरल एन्ड आयल लिमिटेडको सेयर म्युचुअल फन्डले नै घाटा खाएर दोस्रो बजारमा धमाधम बिक्री गरेका छन् ।

आइतबार प्रतिकित्ता ३५० रुपैयाँमा पहिलो कारोबार भएको यो कम्पनीको मूल्य लगातार १० प्रतिशतका दरले ३ दिनसम्म घट्दै मंगलबार २५५ रुपैयाँमा झरेको थियो । बुधबार यो कम्पनीको मूल्य २३० रुपैयाँसम्म झर्‍यो । अघिल्ला तीन दिनसम्म थोरै–थोरै संख्याका सेयर मात्रै बिक्री भएका थिए, जसले गर्दा म्युचुअल फन्डले पनि बेच्न सकेनन् ।

म्युचुअल फन्डले ठूलो परिमाणमा सोनापुरको सेयर बिक्रीका लागि आदेश हालेपनि यसअघि बिक्री हुन सकेको थिएन । बुधबार कारोबार खुलेको केही सेकेन्डमै कम्पनीको मूल्य २३० रुपैयाँसम्म झरेको थियो । जुन मूल्य आईपीओमा परेको लागतभन्दा प्रतिकित्ता ७ रुपैयाँ ५८ पैसा सस्तो हो । यसरी आईपीओभन्दा तल झरेको मूल्यमा पनि सेयर बिक्रीका लागि म्युचुअल फन्डहरुले तँछाडमछाड गरे ।

फन्डहरुले एकै कारोबारमा ५ हजार कित्तासम्म सेयर बिक्री गरेका छन् । कतिपय म्युचुअल फन्डले प्रतिकित्ता २३१ रुपैयाँमै सोनापुर कम्पनीको सेयर बेचेका छन् । अस्वाभाविक रुपमा उच्च प्रिमियममा जारी भएको सोनापुरको सेयर होल्ड गर्दा थप घाटा खानुपर्ने देखेपछि कतिपय म्युचुअल फन्डहरु यसबाट बाहिरिएका हुन् । म्युचुअल फन्डमा प्राविधिक रुपमा जानकार जनशक्ति हुने भएकाले म्युचुअल फन्डको कारोबारलाई लगानीकर्ताले महत्वका साथ हेर्ने गरेका छन् ।

म्युचुअल फन्डप्रति लगानीकर्ता असन्तुष्ट

संस्थागत लगानीकर्ताका रुपमा रहेका म्युचुअल फन्ड (सामूहिक लगानी कोष)ले बजार स्थिरताका लागि केही भूमिका खेल्दै आएका छन् । सामान्यतः बजारमाथि गएका बेला आपूर्ति दिने र घटेका बेला खरिदको माग बढाएर यी कम्पनीहरुले बजारलाई स्थिरता कायम राख्न सघाउ पुग्ने विश्वास गरिन्छ ।

यही कारण हरेक प्राथमिक सेयर (आईपीओ) को बिक्री खुला गरिँदा म्युचुअल फन्डलाई आरक्षण नै छुट्याइन्छ । सर्वसाधारण समूहको ५ प्रतिशत सेयर हिस्सा म्युचुअल फन्डलाई प्रदान गरेपछि मात्रै अरुका लागि बाँडफाँड गरिन्छ । सर्वसाधारण आवेदकले १० कित्ता सेयर समेत पाउन नसकेको अवस्थामा म्युचुअल फन्डलाई भने सयौं कित्ता पहिले नै सुरक्षित गरिन्छ ।

तर, म्युचुअल फन्डले एक साता पनि आरक्षणको सेयर होल्ड नगरेको भन्दै लगानीकर्ताले आपत्ति जनाउने गरेका छन् । सेयर लगानीकर्ता संघ नेपालका कार्यवहाक अध्यक्ष ताराप्रसाद फुल्लेलले म्युचुअल फन्डलाई आईपीओ होल्ड गर्नुपर्ने समय तोकिनुपर्ने बताउँछन् ।

‘म्युचुअल फन्डलाई केही समय सेयर बेच्न नपाउनेगरी मापदण्ड बनाउने धितोपत्र बोर्डले यसअघि आश्वासन दिएको पनि छ,’ उनले भने । धितोपत्र बोर्डका सूचना अधिकारी मुक्ति श्रेष्ठले भने म्युचुअल फन्डले पाएको आईपीको बिक्रीमा अवधि तोक्नेगरी कुनै मापदण्डको तयारी नभएको स्पष्ट पारे ।

‘म्युचुअल फन्डलाई बोर्डले यो समय सेयर बेच वा यो समयमा सेयर किन भनेर भन्न मिल्दैन,’ उनले भने । म्युचुअल फन्डहरु नीति नियमभित्र बसेर कारोबार गर्न स्वतन्त्र रहेको उनको भनाइ छ ।

म्युचुअल फन्ड पनि संस्थागत लगानीकर्ता भएकाले नाफा लिने उद्देश्य हुने सम्बद्ध अधिकारीहरु बताउँछन् । नाम उल्लेख नगर्ने शर्तमा एक मर्चेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘म्युचुअल फन्डका इकाइ पनि सर्वसाधारणले नै किनेका हुन्छन्, ती इकाइधनीलाई लाभ दिनु पनि हाम्रो लक्ष्य हुन्छ, यो समयमा किन वा यो समयमा बेच भनेर हुँदैन ।’

म्युचुअल फन्डलाई अवधिमा प्रतिबन्ध लगाइँदा चलखेल गरेर खराब कम्पनीको मूल्य उचालेर सोझा लगानीकर्ता फसाउने कार्य हुन सक्ने उनको भनाइ छ । ‘खराब कम्पनीको मूल्य बढ्दा म्युचुअल फन्डले आपूर्ति दिएर मूल्य नियन्त्रण गर्छन्, यसले केही हदसम्म सर्वसाधारण फस्नबाट जोगिएका छन्’ उनले भने ।

३५० बाट ओरालो लागेको सोनापुर आईपीओको मूल्यभन्दा तल

नेप्सेमा सूचीकृत भएको दिन आइतबारदेखि तीन दिनसम्म लगातार १० प्रतिशतका दरले घटेको सोनापुरको मूल्य चौथो दिन केही सम्हालिन खोजे पनि असफल भएको छ । खरिदकर्ताहरु पनि बढेकाले यस दिन यो कम्पनीको सबैभन्दा धेरै रकम १४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भयो । कुल कारोबारमा यो कम्पनीको कारोबार १७.९ प्रतिशत बराबर हो ।

आइतबार कारोबार खुल्दा प्रतिकित्ता ३५० रुपैयाँमा पहिलो कारोबार भएको थियो । त्यसपछि १० प्रतिशत घटेर ३१५ रुपैयाँमा झर्‍यो । सोमबार फेरि १० प्रतिशत गिरावट आई २८३ रुपैयाँ ५० पैसामा झर्‍यो । गिरावटको क्रम मंगलबार पनि रोकिएन, १० प्रतिशत नै मूल्य झरेर २५५ रुपैयाँ २० पैसामा आयो । बुधबार कारोबार खुलेको केही सेकेण्डमै मूल्य २३० रुपैयाँसम्म झर्‍यो, तर कारोबार बन्द हुँदा भने २३४ रुपैयाँ ८० पैसा मूल्य कायम भएको छ । यो मूल्य आईपीओको मूल्यभन्दा न्यून हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियमसहित प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको कम्पनीको आईपीओ भर्नेजति सबैलाई परेको थियो ।

प्रकाशित मिति : २०८०, १५ कार्तिक बुधबार  ५ : ५८ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै