२०८३, ३० असार बुधबार

प्रधानमन्त्रीको चीन भ्रमण : कोरला नाका खुलाउन मुस्ताङीको माग

प्रधानमन्त्रीको चीन भ्रमण : कोरला नाका खुलाउन मुस्ताङीको माग


कमल खत्री
म्याग्दी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रमणमा निस्किएपछि कोरला नाका सञ्चालन हुने विषय पुनः चर्चामा आएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीचको तयारीले मूर्तरुप लिन नसकिरहेको सन्दर्भमा प्रधानमन्त्रीको चीन भ्रमणले स्थानीयवासीमा नाका सञ्चालनमा आउने विश्वास बढेको हो । नेपालसँग कोरलालगायतका विभिन्न थप आठ नाका खोल्ने सहमति भएपछि चिनियाँ पक्षले कोरला नाकामा आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरेको छ । चीनले आफ्नो भूमिलाई तारबार गरेर सुरक्षा गरेको छ । सीमा नाकाको दशगजा क्षेत्रमा सुरक्षाको प्रबन्धसँगै भवन पनि बनाइसकेको छ । नाकासम्म नै सडक कालोपत्रे गरिसकेको चिनियाँ पक्षले बन्दरगाह, सुरक्षा पोस्ट, भन्सारलगायतको सम्पूर्ण तयारी गरिसकेको छ ।

कोरला नाका सञ्चालनको लागि चीनले सबै तयारी पूरा गरेको र नेपाल पक्षबाट समेत तयारी सँगसँगै सुरक्षा संवेदनशीलताको ‘ग्यारेन्टी’ चाहेको मुस्ताङका प्रदेशसभा सदस्य नाम्डु गुरुङले बताए । चीनले नाका सञ्चालनको सबै तयारी पूरा गरेकाले गण्डकी प्रदेशको आर्थिक विकासको ‘लाइफ लाइन’ मानिएको कोरला नाका सञ्चालनको लागि प्रधानमन्त्री दाहालको भ्रमणको क्रममा सम्झौता हुनसक्ने आशा पलाएको उनले बताए ।

‘यो नाका पारवहन र पर्यटन दुवै दृष्टिकोणमा महत्वपूर्ण छ । नाका सञ्चालनमा ल्याउन सकेमा अन्तरदेशीय व्यापार र धार्मिक पर्यटनको ओहोर–दोहोर सुरु हुन्छ । समग्रमा मुस्ताङ र गण्डकी प्रदेशको विकासमा यो नाकाले भूमिका खेल्छ । हामीले प्रदेश सरकार र प्रदेशसभामा यो विषयमा निरन्तर आवाज उठाउँदै आएका छौँ । सङ्घीय सरकारलाई समेत यो विषय जानकारीमै छ’, गुरुङले भने ।

उजाड हिमाली मरुभूमिको समथर फाँटमा रहेको कोरला नाकामा ‘नेपाल’ लेखिएको २४ नम्बरको पिल्लर मात्रै सीमा क्षेत्रमा नेपालतर्फको देखिने चिनारी रहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सन् २०१६ मार्चमा भएको औपचारिक भ्रमणका बेला चीनसँग व्यापार र पारवहन सम्झौता भएको थियो । सन् २०१८ जुनमा भएको भ्रमणका समयमा दुई देशबीच थप नाका खुलाउने समझदारी भएको थियो ।

यसै नाकालाई लक्षित गरेर निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डको काममा ढिलासुस्ती भएको छ । पारवहन र व्यापारिक हिसाबले निकै महत्वपूर्ण मानिने दुई ठूला मुलुक चीन र भारत जोड्ने गरी निर्माणाधीन कालीगण्डकी कोरिडोर सडक कोरला नाकाको आधारभूत पूर्वाधार हो । घाँसादेखि जोमसोम हुँदै कोरलासम्मको सडक कालोपत्रे र ग्राभेलसहित स्तरोन्नतिको काम अन्तिम चरणमा पुगे पनि बेनीदेखि घाँसा खण्डमा निर्माण व्यवसायीको ढिलासुस्ती र बाढी, पहिरो तथा नदी कटानको कारण कालोपत्रेको काम प्रभावित भएको छ ।

दुई देशबीचको बहुप्रतिष्ठित कोरला नाका चर्चामा रहँदा परम्परागत रुपमा कोरला नाकामा अर्धवार्षिकरुपमा लाग्दै आएको व्यापार मेला समेत चार वर्र्षदेखि बन्द भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बताए । यो वर्ष नाका सञ्चालनको सम्पूर्ण पूर्वाधार निर्माणको काम सकेको चिनियाँ पक्षले व्यापार मेला नगरेर नाका नै खुलाउने इच्छा देखाएको र प्रधानमन्त्रीको भ्रमणका क्रममा समेत यो विषय समावेश हुने खबरले नाका सञ्चालनमा थप प्रगति हुनेमा मुस्ताङवासी विश्वस्त रहेको उनको भनाइ छ ।

कोरला नाका परिसरमा एकीकृत भन्सार कार्यालयको पूर्वाधार निर्माणको लागि करिब एक हजार रोपनी जग्गा अधिग्रहणको काम सम्पन्न भएको छ भने हालै माटो परीक्षण समेत गरिएको छ । वाणिज्य मन्त्रालयबाट सर्वे र डिपिआरको लागि बजेट विनियोजन भएपछि माटो परीक्षण गरिएको हो । माटो परीक्षणको लागि आएको टोलीले गत असार १५ गतेदेखि कोरला नाकामा पूर्वाधार बनाउने सम्भावित ठाउँको माटो परीक्षण गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

कोरला नाकालाई लक्षित गरेर लोमान्थाङमा सीमा प्रहरी चौकी र छोसेरको नेचुङमा इलाका प्रहरी कार्यालय रहेको छ । सीमा सुरक्षालाई मध्यनजर गर्दै कोरला नाकादेखि करिब २० किलोमिटरयता नेचुङमा सशस्त्र प्रहरी बलको विओपी पोस्ट स्थापना भइसकेको छ । रासस

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ८ : ४४ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै