काठमाडौ। डिजिटल भुक्तानी तथा कार्ड सेवामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नबिल बैंक लिमिटेडले भिसा इन्टरनेशनलबाट दुईवटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।
बैंकले यस वर्ष ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इसुइङ’ र ‘एक्सिलेन्स इन ई–कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट’ विधामा अवार्ड जितेको हो।
काठमाडौंस्थित मेरियट होटलमा सोमबार आयोजित भिसा लिडरसिप कन्क्लेभमा बैंकका प्रतिनिधिहरूले उक्त सम्मान ग्रहण गरेका थिए। यी दुवै विधामा नबिल बैंकले यसअघि पनि उत्कृष्ट उपस्थिति जनाउँदै आएको छ।
अवार्ड प्राप्तिपछि बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यसले ग्राहकलाई सहज, आधुनिक र प्रभावकारी सेवा उपलब्ध गराउन थप प्रेरणा मिलेको बताए। डिजिटल नवप्रवर्तनमार्फत नेपालको वित्तीय प्रणालीलाई विश्वसनीय र प्रविधिमैत्री बनाउन बैंक प्रतिबद्ध रहेको उनको भनाइ छ।
भिसा इन्टरनेशनलले नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष भिसा लिडरसिप कन्क्लेभ आयोजना गर्दै आएको छ। उक्त कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरूको कार्ड र डिजिटल भुक्तानी सेवामा देखिएको उपलब्धिलाई सम्मान गरिन्छ।
चार दशकभन्दा लामो बैंकिङ इतिहास बोकेको नबिल बैंकले प्रविधिमा आधारित वित्तीय सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको छ। ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणामार्फत बैंकिङ सेवालाई थप सहज, आधुनिक र सर्वसुलभ बनाउने लक्ष्य बैंकले अघि सारेको छ।
बैंकले हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
डिजिटल कारोबारको प्रयोग बढिरहेको अवस्थामा भिसाबाट प्राप्त दुई अवार्डलाई नबिल बैंकको कार्ड सेवा तथा ई–कमर्स भुक्तानी व्यवसायमा हासिल गरेको उपलब्धिका रूपमा हेरिएको छ।







प्रतिक्रिया