काठमाडौ। बैंकिङ क्षेत्रमा देखिएको निष्क्रिय कर्जाको चुनौती र अर्थतन्त्रको सुस्तताबीच बैंकहरूलाई आकारमा ठूलो बनाउनेभन्दा सुशासन, वित्तीय अनुशासन र जनविश्वासका आधारमा गुणस्तरीय बनाउनुपर्नेमा नेपाल राष्ट्र बैंकका गभर्नरले जोड दिएका छन्।
नेपाल बैंकर्स संघको वार्षिकोत्सव तथा नेतृत्व हस्तान्तरण कार्यक्रममा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रले आफ्नो लगानीको दायरा फराकिलो बनाउँदै कृषि, साना तथा मझौला उद्यम र सर्वसाधारणसम्म वित्तीय पहुँच विस्तार गर्नुपर्ने बताएका हुन्।
उनका अनुसार पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता र विदेशी मुद्रा सञ्चितिको अवस्था सहज रहेकाले उपलब्ध स्रोतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न आवश्यक छ। ठूला व्यावसायिक घरानामा मात्र कर्जा केन्द्रित नगरी साना व्यवसायी र उद्यमशीलतामा जोड दिन उनले बैंकहरूलाई सुझाव दिए।
गभर्नर पौडेलले आगामी दिनमा पनि नीतिगत स्थिरतालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै मौद्रिक नीतिको उद्देश्यअनुसार वित्तीय औजार विकास गर्नुपर्ने बताए। शेयर बजार, विदेशी विनिमय तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा पनि क्रमिक सुधार अघि बढाउने उनको भनाइ थियो।
कार्यक्रममा बैंकिङ क्षेत्रमा लामो समय योगदान पुर्याएका नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष उपेन्द्र पौड्याल सम्मानित भए। चार दशक लामो बैंकिङ अनुभव स्मरण गर्दै उनले आफ्नो उपलब्धि सहकर्मी, नियामक निकाय, ग्राहक, शेयरधनी र परिवारको सामूहिक प्रयासको परिणाम भएको बताए।
उनले नेतृत्वको सफलता संस्थाको आकार वा पदबाट मात्र मापन नहुने उल्लेख गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गरिने कार्यसंस्कृति, सुशासन र संस्थागत मूल्यले नेतृत्वको वास्तविक पहिचान बनाउने धारणा राखे।
बढ्दो निष्क्रिय कर्जा र आर्थिक चुनौतीलाई सुधारको अवसरका रूपमा लिनुपर्ने उनको सुझाव थियो। नीतिगत तथा भूराजनीतिक अनिश्चितताबीच विवेकपूर्ण निर्णय, नवप्रवर्तन र सुशासनलाई सन्तुलित बनाउन सक्ने बैंक मात्र दीर्घकालीन रूपमा सफल हुने उनले बताए।
यसैबीच, संघका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र राज रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कृषि तथा साना–मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।
कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तोष कोइरालाले नवनिर्वाचित अध्यक्ष रेग्मी, उपाध्यक्ष रामचन्द्र खनाल तथा नयाँ कार्यसमितिलाई बधाई दिँदै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृतहरूप्रति आभार व्यक्त गरे।
बैंकिङ क्षेत्रका नेतृत्व र नियामक निकायका प्रतिनिधिहरूले संस्थागत सुशासन, वित्तीय स्थायित्व, उत्पादनमूलक लगानी र जनविश्वासलाई आगामी दिनको प्रमुख प्राथमिकता बनाउनुपर्ने सन्देश दिएका छन्।







प्रतिक्रिया