काठमाडौं। नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि सरकारको जमानीमा लिएको ५० अर्ब रुपैयाँभन्दा बढी ऋणको किस्ता भुक्तानी गर्न नसक्दा ऋण लगानी गरेका नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष दबाबमा परेका छन्।
निगमको कमजोर वित्तीय अवस्थाका कारण ऋणको साँवा र ब्याज भुक्तानी प्रभावित भएपछि दुवै संस्थामा रकम जम्मा गर्ने बचतकर्ताको लगानीसमेत जोखिममा पर्न सक्ने चिन्ता बढेको छ। ऋण असुलीमा सरकारी तहबाट प्रभावकारी पहल हुनुपर्ने माग नागरिक लगानी कोषले अघि सारेको छ।
संसद्को अर्थ समितिको बैठकमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीले निगमबाट कर्जा असुली गर्न कोष एक्लैले प्रयास गरेर सम्भव नहुने बताए। उनले सरकारको विशेष सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गर्दै लामो समयसम्म ऋण भुक्तानी हुन नसक्दा ब्याजको दायित्वसमेत अर्बौं रुपैयाँ पुगेको जानकारी दिए।
अर्थ मन्त्रालयसँग निरन्तर छलफल भइरहे पनि अपेक्षित परिणाम आउन नसकेको उनको भनाइ थियो। समयमै समस्या समाधान नभए बचतकर्ताको रकम सुरक्षामा चुनौती उत्पन्न हुन सक्ने उनले सचेत गराए।
नागरिक पेन्सन योजनामा कर व्यवस्था सुधार गर्न माग
अर्थ समितिको बैठकमा कार्कीले नागरिक पेन्सन योजनालाई थप प्रभावकारी बनाउन करसम्बन्धी व्यवस्थामा स्पष्टता र सहुलियत आवश्यक रहेको बताए।
विशेषगरी स्वरोजगार, वैदेशिक रोजगारीमा रहेका तथा नियमित रोजगारी नभएका नागरिकलाई पेन्सन योजनामा समेट्न सके दीर्घकालीन सामाजिक सुरक्षा बलियो हुने उनको धारणा थियो। यसले भविष्यमा राज्यले व्यहोर्नुपर्ने वृद्धावस्था भत्ताको आर्थिक भारसमेत घटाउन सहयोग पुग्ने उनले बताए।
पेन्सनमा सहभागी हुने नागरिकले जम्मा गरेको रकमबाट भविष्यमा भुक्तानी लिँदा लाग्ने करबारे कानुनमै स्पष्ट व्यवस्था गर्नुपर्ने माग पनि उनले राखे।
नयाँ लगानी उपकरणमा प्रवेश गर्ने तयारी
नागरिक लगानी कोषले लगानीको क्षेत्र विस्तार गर्न नयाँ वित्तीय उपकरण र वैकल्पिक लगानीका माध्यमलाई प्राथमिकता दिने भएको छ।
कोषले बन्दमुखी म्युचुअल फन्ड सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिने प्रक्रिया अघि बढाएको छ। साथै निजी पुँजी कोष र विशिष्टीकृत लगानी कोषमा पनि लगानी विस्तार गर्ने तयारी गरेको छ।
व्यक्तिगत लगानीकर्ताका लागि संस्थागत लगानी व्यवस्थापन सेवा सुरु गर्ने तथा डिजिटल प्रविधिको प्रयोगमार्फत अनलाइन र स्वचालित सेवा विस्तार गर्ने योजना पनि कोषले अघि सारेको छ।
यसैगरी, आगामी पाँच वर्षका लागि तेस्रो रणनीतिक योजना निर्माण, संगठन तथा व्यवस्थापन संरचना सुधार र कानुनी व्यवस्थामा आवश्यक परिमार्जन गर्ने कामलाई समेत तीव्रता दिइएको कार्कीले जानकारी दिए।
वायुसेवा निगमको ऋण भुक्तानीमा देखिएको समस्याले सार्वजनिक बचत परिचालन गर्ने संस्थाहरूको लगानी व्यवस्थापनमाथि प्रश्न उठाएको छ। निगमको वित्तीय अवस्था सुधार गरी ऋण असुलीको स्पष्ट योजना बनाउन नसके त्यसको असर दीर्घकालीन रूपमा बचतकर्ता र संस्थागत वित्तीय स्थायित्वमा पर्न सक्ने देखिएको छ।







प्रतिक्रिया