काठमाडौं । तुइनखोला क्षेत्रमा पहिरो नियन्त्रण तथा सडक सुरक्षाको काम सुरु गरिने भएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मंसिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरिनेछ।
तुइनखोला क्षेत्रमा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुने समस्या बढ्दै गएपछि यसको दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले रोकथामको काम अघि बढाउन लागेको हो।
पहिरो नियन्त्रणका लागि भिरमा रहेका ठूला ढुंगा हटाउने, पहाडको भिरालो भाग व्यवस्थापन गर्ने तथा नेलिङ प्रविधिबाट कमजोर भूभागलाई बलियो बनाउने योजना छ। त्यस्तै, भिरबाट निस्कने पानीको उचित निकासका लागि होरिजोन्टल ड्रेन र जैविक इन्जिनियरिङ प्रविधिसमेत प्रयोग गरिनेछ।
सडक डिभिजन भरतपुरका अनुसार तुइनखोलामा पहिरो रोकथामको काम गत असोजदेखि रोकिएको थियो। पृथ्वी राजमार्गको घोप्टेभीरमा भइरहेको काम सम्पन्न भएपछि तुइनखोलामा पुनः काम सुरु गर्न लागिएको हो।
सडक डिभिजनका प्रमुख इन्जिनियर अमितकुमार शर्माका अनुसार प्राविधिक मूल्यांकनका आधारमा कामको अवधि निर्धारण गरिनेछ। सडकको अवस्थालाई हेर्दा कम्तीमा १५ दिनसम्म आवागमन बन्द गर्नुपर्ने अवस्था देखिएको उनले बताएका छन्।
यसैबीच, काठमाडौँबाट मुग्लिन हुँदै आँबुखैरेनी र पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने प्रशासनले जनाएको छ।
सडक बन्द हुने समयमा यात्रा गर्ने यात्रुलाई वैकल्पिक समय व्यवस्थापन गर्न प्रशासनले आग्रह गरेको छ। दैनिक पाँच घण्टा सडक बन्द हुने भएकाले नारायणगढ–मुग्लिन मार्ग प्रयोग गर्ने यात्रुले आफ्नो यात्रा तालिका सोहीअनुसार मिलाउनुपर्नेछ।







प्रतिक्रिया