काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै आएको ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय स्तरमा थप सफलता हासिल गरेको छ। अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलले बैंकलाई दुई प्रतिष्ठित विधामा अवार्ड प्रदान गरेको छ।
भिसा इन्टरनेशनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ मा ग्लोबल आइएमई बैंक ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ विधामा सम्मानित भएको हो।
ग्राहकको बदलिँदो आवश्यकता, अपेक्षा र बैंकिङ सेवामा विकसित प्रविधिलाई आत्मसात् गर्दै नवीनतम सेवा तथा सुविधा विस्तार गरेको योगदानको कदरस्वरूप बैंकले यी अवार्ड प्राप्त गरेको जनाएको छ। विशेषगरी डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई थप मूल्य अभिवृद्धि गर्ने सेवाको विस्तारलाई सम्मानको आधार मानिएको छ।
बैंकले पछिल्लो समय डिजिटल बैंकिङ, आधुनिक भुक्तानी प्रणाली र प्रविधिमा आधारित ग्राहक सेवाको विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ। यसअघि पनि बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ।
ग्लोबल आइएमई बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’, २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ। यस्तै, युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ जस्ता सम्मानसमेत बैंकले हासिल गरिसकेको छ।
मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रूपमा रहेको ग्लोबल आइएमईले देशभर बैंकिङ पहुँच विस्तारमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ। बैंकका हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालय गरी एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।
त्यस्तै, अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै बैंकले राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्याउँदै आएको छ।
भिसाबाट प्राप्त पछिल्लो सम्मानले बैंकको उत्पादन नवप्रवर्तन र ग्राहककेन्द्रित सेवामा गरिएको लगानीलाई अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाएको बैंकको विश्वास छ।







प्रतिक्रिया