भैरहवा । नेपाली काँग्रेसका नेता डा.शंशाक कोइरालाले काँग्रेस एकजुट भएर लडे कसैले हराउन नसक्ने दावी गरेका छन् ।
उनले काँग्रेसलाई काँग्रेसकै साथीले हराउने गरेको बताए । देउवा समूहको रुपन्देही जिल्ला अधिवेशनको आइतबार भैरहवामा उद्घाटन गर्दै डा.कोइरालाले राष्ट्रलाई अगाडि लैजाने पार्टी काँग्रेस नै भएको जिकिर गरे ।
‘लोकतन्त्र आइसक्यो । प्रतिष्पर्धा हुन्छ । अब त राष्ट्रको लागि हामीले सोच्नुप¥यो । यो राष्ट्रलाई कसरी अगाडि लिएर लैजाने ? त्यतातिर हाम्रो ध्यान जाँदैन । हाम्रो ध्यान के मा जान्छ कि पैसा कमाउने नत्रभने कुनै ठूलो पदमा जाने । त्यो होइन । पद भनेको विपी कोइराला भन्नुहुन्थ्यो–‘प्रधानमन्त्रीको पद फाटेको जुत्ता हो । कहिले एउटाले लगाउँछ, फेरी अर्कोले लगाउँछ, मतलब हुँदैन ।‘ प्रधानमन्त्री भएर के ग¥यो, त्यो महत्वपूर्ण हो’उनले भने ।
उनले गिरिजाप्रसाद कोइरालाको पालोमा धेरै परिवर्तन भएको बताए । ‘एउटा मेडिकल कलेज थियो, २० वटा मेडिकल कलेज भयो । एउटा युनिर्भसिटी थियो, २० वटा भयो । आकाशमा हवाइजहाजहरु उडे । बाटो बने । ३ वर्षमात्र बस्नुभयो । बीचमा चुनाव भयो उहाँ हट्नुभयो,’डा. कोइराले भने ।
काँग्रेसको इतिहास र सिद्धान्त बलियो भएको उनको भनाइ थियो । ‘जति गगन थापाको नाम लिनुहुन्छ, त्यति उहाँको महत्व बढ्छ। त्यसैले नामै नलिनुस् । को हो गगन थापा म त चिन्दा पनि चिन्दिन, ’उनले भने ।
उनले धर्म निरपेक्ष हुन्छ र सापेक्ष नहुने बताउँदै धर्म स्वतन्त्र हुने धाणा राखे । ‘यो मेरो बटमलाईन हो । धार्मिक स्वतन्त्रता चाहिन्छ, ’उनले भने ।
त्यस्तै काँग्रेसका पूर्व उपसभापति तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधिले संविधानको रक्षा, सफल कार्यान्यवन र यसलाई दीर्घायू बनाउनुपर्नेमा जोड दिए ।
‘नेपालको इतिहासमा नेपालको संविधान नेपालीले आफै बनाएको यो पहिलोपटक हो । संविधानमा अनेकौं कमीकमजोरी भएका होलान् । संविधान बनाएकोमा हामीले गर्व गर्नुपर्छ । त्यतिबेला संविधान नबनाएको भए के हुन्थ्यो, नेपाललाई दुनियामा असफल राज्य भनिन्थ्यो, ’उनले भने ।
सुुशील कोइराला प्रधानमन्त्री बनेको बेला र नेपाली काँग्रेसको सुझबुझले नै संविधान बनेको उनले बताए । ‘संविधानलाई संशोधन गर्नुपर्छ तर, पछाडी फर्कनुहुँदैन, ’ निधिले भने ।
पूर्वमन्त्री तथा नेता एनपी साउदले नेता मुद्दा, परिस्थिति र आवश्यकताले बनाउने बताए । ‘महाधिवेशन चुनौतिपूर्ण अवस्थामा छ । विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टी एकता गर्न चाहँदैन, ’उनले भने ।
पूर्वमन्त्री उमाकान्त चौधरीले काँग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु भएको बताए । ‘भदौ २४ गते काँग्रेसका नेताको घर छानीछानी आगजनी तथा तोडफोड भयो । हाम्रो नेताको गल्ती के थियो ? त्यतिबेला तत्कालिन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आफ्नो पद र निजी स्वार्थका लागि हस्ताक्षर अभियान सुरु गर्नुभयो । काँग्रेसको विधानभन्दा अरु ठूलो कोही होइन । विधानअनुसार काँग्रेसको कुनै पदाधिकारीले विशेष महाधिवेशन गर्न पाउँदैन, ’उनले भने ।







प्रतिक्रिया