२०८३, ७ मंसिर सोमबार

हिलो सूर्योदय चिया महोत्सव :पदमार्ग प्रवद्र्धनमा जोड

हिलो सूर्योदय चिया महोत्सव :पदमार्ग प्रवद्र्धनमा जोड


इलाम । कन्याममा पहिलोपटक आयोजना गरिएको ‘प्रथम सूर्योदय चिया महोत्सव’ चिया पर्यटनको सम्भावना उजागर गर्दै निर्माणाधीन चिया पदमार्गको प्रवद्र्धनमा जोड दिएर सम्पन्न भएको छ । 

चियाको राजधानीका रूपमा परिचित इलामको सूर्योदय नगरपालिका–७ कन्याममा दुई दिनसम्म सञ्चालन भएको महोत्सवले चियाखेती, पर्यटन, स्थानीय उत्पादन र सांस्कृतिक पहिचानलाई एकै ठाउँमा जोड्ने प्रयास गरेको छ ।

कन्यामको हुर्हुरेमा तीनवटा चियाका बिरुवा रोपेर शनिबार सुरु गरिएको महोत्सवमा चिया पर्यटनको विकास, चियाको बजारीकरण, जलवायु परिवर्तनले चियाखेतीमा पारेको प्रभाव तथा किसानका समस्या र सम्भावनाबारे छलफल गरिएको थियो । सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा आयोजित महोत्सवमा चियासँगै स्थानीय संस्कृति, खानाका परिकार र उत्पादनलाई समेत प्राथमिकता दिइएको थियो ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वाले इलामलाई महत्वपूर्ण पर्यटकीय हबका रूपमा विकास गर्न सकिने बताइन् । प्राकृतिक सौन्दर्य, चियाखेती, जैविक विविधता र सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्न सके इलाम आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने उनको भनाइ थियो । उनले चिया र पर्यटन इलामको पहिचानसँग जोडिएकाले यसको प्रवद्र्धनका लागि स्थानीय, प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन् ।

महोत्सवको पहिलो दिन नेपाल पर्यटन बोर्डका पूर्वसदस्य कृष्ण शाहले ‘चिया र पर्यटन’ विषयमा प्रस्तुति दिएका थिए । कार्यक्रममा राई, नेवार, तामाङ र लाप्चालगायत समुदायका मौलिक झाँकी, पञ्चेबाजा, भेषभूषा तथा परम्परागत खानाका परिकार प्रस्तुत गरिएको थियो । सूर्योदय क्षेत्रमा उत्पादन हुने विभिन्न ब्रान्डका चियाको प्रदर्शनी र स्वाद परीक्षणसमेत गरिएको थियो । महोत्सवमा १२ वटाभन्दा बढी स्टल राखिएका थिए ।

महोत्सवको दोस्रो दिन पुरुष र महिलातर्फ छुट्टाछुट्टै टी ट्रेल रेस प्रतियोगिता सञ्चालन गरिएको थियो । कार्यक्रम व्यवस्थापन समितिका सचिव खेम राईका अनुसार पुरुषतर्फ १२ दशमलव पाँच किलोमिटर र महिलातर्फ नौ किलोमिटर दूरीको प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा एक सय १० जनाको सहभागिता रहेको थियो । पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ तथा महिलातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

दोस्रो दिन ‘जलवायु परिवर्तनको सामना ः दिगो चिया खेती र चिया कृषकको जगेर्ना’ विषयमा अन्तरसंवादसमेत गरिएको थियो । अन्तरसंवादमा प्रतिनिधिसभा सदस्य निश्कल राई, संघीय सरकारका पर्यटन सचिव मुकुन्दप्रसाद निरौला, कृषि सचिव राजेन्द्रप्रसाद मिश्र र सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बराल सहभागी थिए । कार्यक्रममा जलवायु परिवर्तनका कारण चियाखेतीमा देखिएका चुनौती, दिगो खेती प्रणाली र कृषकको संरक्षणका विषयमा छलफल गरिएको थियो ।

महोत्सवमा चियाबारी पदयात्रा, चिया स्वाद परीक्षण, स्थानीय खानाका परिकारको प्रदर्शनी तथा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । कार्यक्रम व्यवस्थापन समिति संयोजक एवं सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाका अनुसार चिया पर्यटन प्रवद्र्धन र निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा आन्तरिक तथा बाह्य गरी १० हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको उनले बताए ।

सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाअन्तर्गत कन्यामदेखि श्रीअन्तुसम्म २५ दशमलव पाँच किलोमिटर लामो चिया पदमार्ग निर्माण भइरहेको छ । सूर्योदय नगरपालिका–७ कन्यामबाट वडा नं. ५ श्रीअन्तुसम्म पुग्ने उक्त पदमार्गलाई चिया पर्यटनको नयाँ आकर्षणका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । महोत्सवले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रका चिया उत्पादक, पर्यटन व्यवसायी र स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सूर्योदय नगरपालिका–७ मा रहेको कन्याम इलामको एक प्रमुख पर्यटकीय गन्तव्य हो । चारैतिर हरियाली चियाबारीले सजिएको कन्याममा प्राकृतिक दृश्यावलोकन, घोडचढी, फोटो तथा भिडियो खिच्न र वनभोजका लागि दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । चिया खेतीलाई पर्यटनसँग जोडेर नयाँ गन्तव्य विकास गर्ने प्रयासले कन्यामको पर्यटकीय पहिचान थप विस्तार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३, ७ मंसिर सोमबार  ९ : ४३ बजे

प्रधानमन्त्री शाह र मोदीबीच आज द्विपक्षीय वार्ता, नेपाल–भारत सम्बन्ध मुख्य एजेन्डा

काठमाडौं । भारतको दुईदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले

हिलो सूर्योदय चिया महोत्सव :पदमार्ग प्रवद्र्धनमा जोड

इलाम । कन्याममा पहिलोपटक आयोजना गरिएको ‘प्रथम सूर्योदय चिया महोत्सव’

काँग्रेस एकजुट भएर लड्यो भने कसैले हराउन सक्दैन : नेता कोइराला

भैरहवा । नेपाली काँग्रेसका नेता डा.शंशाक कोइरालाले काँग्रेस एकजुट भएर

काठमाडौं उपत्यकामा २४ घण्टामै ५६६ सवारीसाधन कारबाहीमा, तीव्र गतिका १२२ चालक परे

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५६६ सवारीसाधनमाथि

सूर्यास्तको सुनौलो किरणमा कुम्भकर्ण हिमशृङ्खलाको मनमोहक दृश्य (तस्बिरहरू)

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ स्थित साँघु गाउँबाट सूर्यास्तसँगै देखिएको