धुलिखेल । काभ्रेपलाञ्चोकका थप १० स्थानीय तहमा मालपोत तथा नापीसम्बन्धी सेवा सञ्चालन हुने भएको छ। भूमि प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सेवा विस्तारका लागि सम्बन्धित पालिकालाई आवश्यक तयारी र समन्वय गर्न पत्राचार गरेको छ।
सेवा सञ्चालनको तयारी गरिएका पालिकामा धुलिखेल, बनेपा, पनौती, पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा बेथानचोक, तेमाल, चौरीदेउराली, खानीखोला र महाभारत गाउँपालिका रहेका छन्।
यसअघि जिल्लाका रोशी, भुम्लु र नमोबुद्धमा यस्तो सेवा सुरु भइसकेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशनअनुसार थप पालिकामा जनशक्ति, पूर्वाधार र प्राविधिक व्यवस्था मिलाएर सेवा सञ्चालन गर्न लागिएको हो।
सेवा विस्तार भएपछि जग्गा रजिस्ट्रेसन, नामसारी, दाखिल खारेज, रोक्का तथा फुकुवालगायतका काम स्थानीय तहमै उपलब्ध हुने अपेक्षा गरिएको छ। यसबाट सेवाग्राहीलाई सदरमुकाम धाउनुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।







प्रतिक्रिया