काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई ३५ वर्षदेखि समाधान हुन नसकेका नेपाल–भारत सम्बन्धका समस्या उठाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा खनालले सीमा विवाद, ग्रेटर नेपालको नक्सा, कालापानी–लिपुलेक–लिम्पियाधुरा, सुस्ता, खुला सीमा व्यवस्थापन, डुबान, व्यापार घाटा र असमान सन्धिका विषयमा प्रधानमन्त्रीले स्पष्ट धारणा राख्नुपर्ने बताए।
काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा ग्रेटर नेपालको नक्सा राखेका प्रधानमन्त्री शाहले भारत भ्रमणमा त्यसबारे के धारणा राख्छन् भन्ने विषयमा नेपाली जनताको चासो रहेको उनको भनाइ छ।
खनालले महाकाली नदीको वास्तविक मुहानबारे स्पष्टता कायम गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा विवाद समाधान गर्न भारतसँग ठोस पहल गर्नुपर्ने बताए। सुस्ताको सीमा अतिक्रमण, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन र सीमावर्ती क्षेत्रमा हुने एकतर्फी बाँध निर्माणका कारण तराईमा हुने डुबानको समस्या पनि उठाउनुपर्ने उनको सुझाव छ।
त्यस्तै, खुला सीमालाई व्यवस्थित गर्ने, व्यापार घाटा घटाउने तथा सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि र सन् १९४७ को त्रिपक्षीय सैनिक सम्झौता पुनरावलोकन गर्ने विषयलाई भ्रमणको एजेन्डा बनाउनुपर्ने उनले बताए।
‘३५ वर्षमा सकेनन्, अब यो वर्तमान सरकारले त्यो गर्न सक्नुपर्छ। यो उहाँका सामु चुनौती छ,’ खनालले भने।
विगतका सरकारको आलोचना गरेर मात्रै नहुने भन्दै खनालले प्रधानमन्त्री शाहले राष्ट्रिय हित, समानता र पारस्परिक सम्मानका आधारमा नेपाल–भारत सम्बन्धका पुराना समस्या समाधान गर्न ठोस पहल गर्नुपर्ने बताए।







प्रतिक्रिया