काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी धक्का भएको बताउनुभएको छ। उहाँले हारबाट निराश नभई कमजोरी सच्याएर नयाँ ऊर्जा र आत्मविश्वासका साथ अघि बढ्न नेता–कार्यकर्तालाई आह्वान गर्नुभएको छ।
एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने बताउनुभयो। आगामी निर्वाचनको तयारीसँगै संगठन सुदृढीकरणमा जुट्न उहाँको आग्रह थियो।
करिब ११ वर्षपछि सक्रिय पार्टी राजनीतिमा फर्किनुभएकी भण्डारीले आफ्नो पुनरागमन पद र सुविधाका लागि नभई पार्टीको वैचारिक विकास र संगठनात्मक सुदृढीकरणका लागि भएको स्पष्ट पार्नुभयो।
उहाँले जबजलाई व्यवहारमा उतार्न, कमिटीहरूलाई चुस्त र कार्यकारी बनाउन तथा आलोचना–आत्मालोचनाको संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो। युवाको निराशा, बेरोजगारी र विदेश पलायन रोक्न जनसंगठनहरू रचनात्मक अभियानमा जुट्नुपर्ने उहाँको भनाइ थियो।
देशको शान्ति सुरक्षा र शक्ति सन्तुलन कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले समयमै सुधार नभए मुलुक अस्थिरतातर्फ धकेलिन सक्ने चेतावनीसमेत दिनुभयो।






प्रतिक्रिया