काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रिय भेलालाई आजै समापन गरी केन्द्रीय कमिटीको चौथो बैठक अघि बढाउने भएको छ। पार्टीको भावी कार्यदिशा र समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमालेले भेला र केन्द्रीय कमिटी बैठकलाई लगातार अघि बढाउन लागेको हो।
काठमाडौंमा जारी राष्ट्रिय भेलाको दोस्रो दिन बिहान ८ बजेदेखि कार्यक्रम सुरु भएको छ। आजको सत्रमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यतालिका छ। भेलाको मुख्य आकर्षणका रूपमा अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यले बताएका छन्।
भेलामा समसामयिक प्रस्ताव पारित गर्ने र दिवा भोजनपछि कार्यक्रम समापन गर्ने तयारी छ। राष्ट्रिय भेला सकिएपछि आजै दिउँसो ३ बजे कार्की ब्याङ्क्वेटमा एमालेको केन्द्रीय कमिटीको चौथो बैठक बस्नेछ। लगातारका यी दुई कार्यक्रमलाई पार्टीले आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा अघि बढाएको छ।







प्रतिक्रिया