भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व भएको बताउनुभएको छ।
मध्यपुर थिमि नगरपालिकास्थित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको आकस्मिक अनुगमन गर्दै मुख्यमन्त्री थापा मगरले स्वास्थ्य सेवा प्राप्त गर्नु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्नुभयो।
अनुगमनका क्रममा उहाँले अस्पतालमा उपचाररत बिरामीसँग प्रत्यक्ष भेट गरी उनीहरूले प्राप्त गरिरहेको स्वास्थ्य सेवा र उपचारको अवस्थाबारे जानकारी लिनुभएको थियो। साथै, अस्पतालको समग्र व्यवस्थापन, सेवा प्रवाहको प्रभावकारिता र स्वास्थ्य सेवाको विस्तारका सम्भावनाबारे पनि जानकारी लिनुभयो।
मुख्यमन्त्री थापा मगरले अस्पतालमा देखिएका समस्या र सुधार गर्नुपर्ने पक्ष पहिचान गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देशनसमेत दिनुभएको थियो।
अनुगमनपछि उहाँले स्वास्थ्य सेवा कुनै पनि नागरिकको पहुँचभन्दा बाहिर हुन नहुने बताउँदै गुणस्तरीय उपचार, सहज पहुँच र प्रभावकारी स्वास्थ्य व्यवस्थापन सुनिश्चित गर्न सरकार तथा स्वास्थ्य संस्थाहरू जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “हरेक नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्नु नैसर्गिक अधिकार हो। नागरिकलाई सरल, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु सरकार तथा स्वास्थ्य संस्थाहरूको दायित्व हो। आज अस्पतालको आकस्मिक अनुगमन गरी बिरामीहरूले पाइरहेको सेवा, अस्पतालको अवस्था, सुधार गर्नुपर्ने पक्ष तथा सेवा विस्तारका विषयमा जानकारी लिएको छु। आवश्यक सुधारका लागि केही महत्त्वपूर्ण निर्देशनसमेत दिएको छु।”







प्रतिक्रिया