काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले दुवै समूहका लागि कुल २१ लाख १२ हजार ५०० कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चार लाख २२ हजार ५०० कित्ता सेयर छुट्याएको छ। प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन हुने सेयरमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
स्थानीय बासिन्दाका लागि कात्तिक २५ गतेसम्म आवेदन खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीले कात्तिक १६ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई भौगोलिक क्षेत्रका आधारमा सेयर वितरण गर्ने जनाएको छ। दोलखाको बिगु गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिकाका वडा नम्बर २, ३ र ४ लाई अति प्रभावित क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ।
यी वडाका बासिन्दाका लागि स्थानीयलाई छुट्याइएको कुल सेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख १४ हजार कित्ता छुट्याइएको छ। त्यस्तै, बिगु र कालिन्चोक गाउँपालिकाका अन्य वडाका बासिन्दाले ६ लाख ७६ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको चार लाख २२ हजार ५०० कित्ता सेयरमा श्रम स्वीकृति लिएर विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
हिम पर्वत हाइड्रोपावरले कुल ५९ लाख १५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने योजना बनाएको छ। स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर बिक्री नभएमा बाँकी सेयर सर्वसाधारणतर्फ समायोजन गरी निष्कासन गर्न सकिने कम्पनीको विवरणमा उल्लेख छ।
कम्पनीले दोलखामा २० मेगावाट क्षमताको साँगु खोला जलविद्युत् आयोजना र ५.५ मेगावाट क्षमताको साँगु खोला–१ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। दुवै आयोजनाको कुल उत्पादन क्षमता २५.५ मेगावाट रहेको छ।
कम्पनीको विवरणअनुसार साँगु खोला आयोजनाको कुल लागत तीन अर्ब ६५ करोड रुपैयाँभन्दा बढी छ भने साँगु खोला–१ आयोजनामा एक अर्ब १५ करोड रुपैयाँभन्दा बढी लगानी भएको छ।
आईपीओमा आवेदन दिन चाहने स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले सम्बन्धित समूहको योग्यता र तोकिएको समयसीमा जाँच गरेर आवेदन दिनुपर्नेछ।







प्रतिक्रिया