काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण आज पनि देशका अधिकांश भूभागको मौसम बदली रहने भएको छ। केही स्थानमा वर्षा हुने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागसहित कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ। लुम्बिनीका केही स्थान तथा कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।
महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यतया बदली रहनेछ। कोशी र कर्णालीका पहाडी तथा हिमाली क्षेत्रमा पनि बदली रहने र केही स्थानमा वर्षा तथा हिमपात हुनसक्नेछ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कर्णालीका हिमाली क्षेत्रमा भने एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ। पहाडी तथा तराई भूभागका केही स्थानमा पनि मध्यमसम्मको वर्षा हुनसक्नेछ।
रातिको समयमा पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात र पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने एक–दुई स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।







प्रतिक्रिया