२०८३, १४ आश्विन बिहीबार

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक


काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि नेपाली चलचित्र क्षेत्रमा फर्किएका छन् । असोज १६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चमेलीको पोई’मार्फत ठूलो पर्दामा देखिन लागेका हुन्।

टेलिफिल्ममा भने बीच–बीचमा काम गरिरहे पनि चलचित्रमा उनको सक्रियता लामो समयदेखि देखिएको थिएन । ‘चमेलीको पोई’ आफ्नो औपचारिक कमब्याक भएको बताउँदै त्रिपाठीले यसपटक आफूले विगतमा दर्शकले रुचाएको शैलीकै चरित्र निर्वाह गरेको बताए।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले आफू लामो समयपछि चलचित्रमा फर्किन पाउँदा उत्साहित रहेको बताए। उनका अनुसार ‘चमेलीको पोई’ हास्यप्रधान चलचित्र हो भने यसमा समसामयिक विषयवस्तुलाई पनि समेटिएको छ।

त्रिपाठीले भने, ‘१८ बर्षपछि फिल्ममा आएको हुँ । तर टेलिफिल्म चाहिं सक्रिय नै थिए । यो कमब्याक लामो समयपछि हो त्यसैले अहिले एक्साइटेड छु ।’

उनका अनुसार चलचित्रमा आफूले आफ्नो पुरानै हास्य शैलीसँग मिल्ने चरित्र पाएका छन्। दर्शकले विगतमा आफूलाई जुन रूपमा मन पराएका थिए, त्यही स्वरूपलाई नयाँ कथामा प्रस्तुत गर्ने प्रयास गरेको उनले बताए।

चलचित्रका निर्देशक एभरेस्ट सूर्य बोहरासँग आफ्नो लामो समयदेखिको सम्बन्ध रहेको पनि त्रिपाठीले बताए। उनीहरू किशोर अवस्थादेखि नै नाटकमा सँगै आबद्ध थिए । बोहराले बनाएका भिडियो फिल्मदेखि ‘अग्निपरीक्षा’सम्म आफूले काम गरेको स्मरण गर्दै त्रिपाठीले ‘चमेलीको पोई’मा पनि पुरानो सम्बन्धकै कारण काम गर्ने अवसर जुरेको बताए।

निर्देशक बोहराले पटक–पटक आफूलाई विभिन्न भूमिकाका बारेमा सुनाउने गरेको र राम्रो भूमिका आएपछि मात्रै चलचित्रमा फर्किने आफ्नो चाहना रहेको उनले बताए।

पछि निर्देशक बोहराले ‘चमेलीको पोई’को स्क्रिप्ट पठाएपछि आफूलाई भूमिका मन परेको त्रिपाठीले बताए । स्क्रिप्टसँगै गीतहरू पनि सुनेपछि चलचित्र आफ्नो कमब्याकका लागि उपयुक्त हुने महसुस भएको उनको भनाइ छ ।

चलचित्रमा उनले ‘भिनाजु’को चरित्र निर्वाह गरेका छन् । आफूलाई पुरानै दर्शकले रुचाएको शैलीमा प्रस्तुत गर्न निर्देशकले समेत आग्रह गरेको उनले बताए।

‘कमब्याक हो, दर्शकले मलाई जुन रूपमा मन पराउनुहुन्थ्यो, त्यही नारायण त्रिपाठीको रूप यो चरित्रमा छ । भिनाजुको क्यारेक्टरमा त्यही पुरानो रूप छ,’ उनले भने।

पर्दामा चरित्रमा प्रवेश गर्दा आफ्नो बोल्ने शैली र संवाद प्रस्तुत गर्ने तरिका पनि विगतकै शैलीमा राखिएको त्रिपाठीले बताए । सुरुवाती दिनमा केही अभ्यास र मेहनत गर्नुपरे पनि पुरानो अभिनय शैली सहजै फर्किएको उनको अनुभव छ ।

उनका अनुसार चलचित्रको छायांकनका क्रममा पुराना दिनको वातावरणसमेत सम्झना भएको थियो। वरिष्ठ कलाकारदेखि नयाँ पुस्ताका हास्य कलाकारसम्मसँग काम गर्ने अवसर पाउँदा आफूले धेरै कुरा सिक्न पाएको उनले बताए।

‘चमेलीको पोई’ समसामयिक विषयमा आधारित हास्यप्रधान चलचित्र भएको त्रिपाठीको भनाइ छ । चलचित्रको शीर्षकले नै कथाको केही संकेत दिने भन्दै उनले एउटा व्यक्ति टाढा हुँदा ‘चमेली’ले भोग्ने समस्या र ‘चमेलीको पोई’को खोजी वरिपरि कथा अगाडि बढ्ने बताए।

चलचित्रमा मुकुन भुसाल र सुरक्षा पन्त मुख्य भूमिकामा छन्। त्रिपाठीका अनुसार उनीहरूको चरित्रमा पनि मनोरञ्जनसँगै भावनात्मक पक्ष जोडिएको छ। ‘कमेडी बेस्ड फिल्म हो, सन्देश बोकेको फिल्म हो,’ उनले भने । 

चलचित्रले समाजमा महिलालाई कसरी गलत ढंगले प्रस्तुत वा परिचालन गरिन्छ भन्ने विषयलाई पनि उठाएको उनले बताए। हास्यका माध्यमबाट गम्भीर सामाजिक सन्देश दिन खोजिएको उनको भनाइ छ।

त्रिपाठीले पछिल्लो समय नेपाली चलचित्रको कथा र प्रस्तुति शैलीमा परिवर्तन आएको पनि बताए । विगतमा हास्य कलाकारका लागि छुट्टै ट्र्याक हुने गरेकोमा अहिले कलाकारहरू कथाकै महत्वपूर्ण हिस्सा बन्ने गरेको उनको अनुभव छ।

उनका अनुसार अहिले चलचित्रमा अभिनय पनि बढी प्राकृतिक बन्दै गएको छ। पहिलाका चलचित्रमा केही हदसम्म ‘लाउड’ अभिनय देखिने गरेको भए पनि अहिले पात्रअनुसार प्राकृतिक अभिनय गर्ने अभ्यास बढेको उनले बताए।

नेपाली चलचित्रमा अहिले गाउँका वास्तविक कथा र समाजमा भइरहेका घटनालाई आधार बनाउने प्रवृत्ति बढेको त्रिपाठीको बुझाइ छ । यस्तो कथाले दर्शकलाई पात्रसँग भावनात्मक रूपमा जोड्न सक्ने उनले बताए।

उनले पछिल्लो समय चलचित्र निर्माणको संख्या र विविधता पनि बढेको बताए। एक्सन, कमेडी, भावनात्मक तथा विभिन्न विषयमा चलचित्र निर्माण भइरहेको भन्दै उनले नेपाली दर्शकले अहिले फरक–फरक स्वादका चलचित्र हेर्न पाउने अवस्था बनेको बताए।

त्रिपाठीका अनुसार अहिले दर्शकलाई हलसम्म ल्याउन चलचित्रमा मनोरञ्जनको बलियो आधार आवश्यक छ। मोबाइल, टिकटक र अन्य डिजिटल माध्यममा मनोरञ्जनका धेरै विकल्प हुँदाहुँदै दर्शकले पैसा तिरेर हलसम्म आउने भएकाले चलचित्रले उनीहरूको समय र खर्चको मूल्य दिन सक्नुपर्ने उनको भनाइ छ ।

‘चमेलीको पोई’मा मनोरञ्जनसँगै सन्देश पनि रहेको उनले बताए। चलचित्रले दर्शकलाई हँसाउने र केही सामाजिक विषयबारे सोच्न बाध्य बनाउने उनको विश्वास छ।

लामो समय विदेशमा बसे पनि नेपाली चलचित्र क्षेत्रसँग आफ्नो सम्बन्ध भने टुटेको थिएन। विदेशमा रहँदा पनि युट्युब, फेसबुक तथा अन्य डिजिटल माध्यमबाट नेपाली चलचित्र र कलाकारका गतिविधि पछ्याइरहेको उनले बताए।

उनका अनुसार विदेशमा रहँदा नेपाली चलचित्रबारे समाचार, नयाँ कलाकारको आगमन, व्यापार तथा कलाकारसँग सम्बन्धित विभिन्न गतिविधि आफूले नियमित रूपमा हेर्ने गरेका थिए।

चलचित्रमा फर्किनुको कारणबारे पनि उनले आफ्नो बाध्यता र व्यक्तिगत परिस्थितिलाई मुख्य कारणका रूपमा उल्लेख गरे। अहिले ती धेरै समस्या समाधान भइसकेको भन्दै उनले आफ्नो बाँकी समय नेपाली चलचित्र र दर्शकसँग बिताउने इच्छा व्यक्त गरे।

अब नेपालमै बसेर केही हास्यप्रधान चलचित्रमार्फत दर्शकलाई मनोरञ्जन दिने चाहनामा रहेको त्रिपाठीले बताए । विदेशमा बस्दा चलचित्र छायांकन, डबिङ र प्रचारका लागि समय व्यवस्थापन गर्न कठिन हुने भएकाले पनि नियमित रूपमा नेपाली चलचित्रमा काम गर्न नसकेको उनले बताए।

आफ्नो कमब्याकलाई लिएर दर्शकको प्रतिक्रियाका विषयमा भने त्रिपाठी निकै उत्साहित छन् । सामाजिक सञ्जालमा आफूलाई चलचित्र क्षेत्रमा फर्किन आग्रह गर्ने दर्शकको संख्या उल्लेख्य रहेको उनले बताए ।

दर्शकको यही मायाका कारण आफू पुनः चलचित्रमा फर्किएको उनको भनाइ छ । ‘चमेलीको पोई’मा दर्शकले आफूलाई विगतभन्दा केही फरक चरित्रमा देख्न पाए पनि पुरानै हास्य शैलीको स्वाद पाउने उनले बताए ।

चलचित्रको सफलताका विषयमा आफू उत्साहित रहेको बताउँदै उनले चलचित्रको व्यापारमा कथा, मौसम, चाडपर्वलगायत विभिन्न पक्षले प्रभाव पार्ने बताए। दसैँको आसपास चलचित्र प्रदर्शनमा आउनु र हास्यप्रधान चलचित्र हुनु सकारात्मक पक्ष भएको उनको भनाइ छ।

त्रिपाठीले दर्शकलाई ‘चमेलीको पोई’ हेर्न हलसम्म पुग्न आग्रह गरेका छन्।

लामो समयपछि पर्दामा फर्किएका नारायण त्रिपाठीका लागि ‘चमेलीको पोई’ केवल नयाँ चलचित्र नभएर आफ्नो पुरानो दर्शकसँग पुनः जोडिने अवसरका रूपमा आएको छ।

हास्य कलाकारको पुरानो पहिचानलाई नयाँ पुस्ताका कलाकार र बदलिँदो चलचित्र शैलीसँग जोड्दै उनले यस चलचित्रमार्फत नेपाली दर्शकमाझ आफ्नो पुनरागमनलाई निरन्तरता दिन खोजेका छन्।

प्रकाशित मिति : २०८३, १४ आश्विन बिहीबार  ७ : ४२ बजे

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि

छोराछोरी विदेशिएपछि ज्येष्ठ नागरिक एक्लिए : छत्र प्रधान

नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो

कांग्रेसको वैधानिकतामा समस्या छैन्, असोज १८ गते खुलामञ्चमा बृहत उद्घाटन हुनेछ : कृष्ण दुलाल

१५ औं महाधिवेशनको तयारीमा कांग्रेस, करिब ८ हजार प्रतिनिधि सहभागी

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका