काठमाडौं । वर्षा, सहकाल तथा समृद्धिका देवता इन्द्रको पूजा–आराधना गर्दै आज देशका विभिन्न स्थानमा इन्द्रजात्रा पर्व मनाइँदै छ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा विशेषगरी काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित धुलिखेल, दोलखालगायत क्षेत्रमा विभिन्न धार्मिक तथा सांस्कृतिक विधिसहित मनाउने गरिन्छ। काठमाडौंको हनुमानढोका दरबार क्षेत्रलाई केन्द्र बनाएर मनाइने इन्द्रजात्राको विशेष आकर्षण इन्द्रध्वजासहितको लिंगो ठड्याउने परम्परा हो। भाद्र शुक्ल द्वादशीका दिन धार्मिक विधिपूर्वक लिंगो ठड्याएपछि जात्रा औपचारिक रूपमा सुरु हुने गर्दछ। यसलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ।
इन्द्रजात्राका क्रममा विभिन्न देवी–देवताको पूजा, रथयात्रा, नाचगान तथा परम्परागत सांस्कृतिक प्रदर्शन गरिन्छ। काठमाडौंको बसन्तपुर क्षेत्रमा कुमारी, गणेश र भैरवको रथयात्रा विशेष आकर्षणका रूपमा रहने गरेको छ। परम्पराअनुसार लिंगोको फेदमा भैरवको पूजा गर्ने चलन छ। इन्द्रजात्रा धार्मिक आस्थासँगै काठमाडौं उपत्यकाको मौलिक नेवारी संस्कृति, कला, संगीत र सामुदायिक परम्पराको महत्वपूर्ण प्रतीकका रूपमा समेत स्थापित छ।
ऐतिहासिक तथा सांस्कृतिक मान्यताअनुसार शत्रुमाथि विजय प्राप्त गरेपछि विजय उत्सवका रूपमा इन्द्रजात्रा मनाउने परम्परा रहेको विश्वास गरिन्छ। आठ दिनसम्म विभिन्न विधि र सांस्कृतिक गतिविधिसहित मनाइने यो पर्वले वर्षा, कृषि, सहकाल र सामुदायिक एकताको कामना गर्ने सांस्कृतिक अर्थसमेत बोकेको छ।
इन्द्रजात्राका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज दिनभर धार्मिक पूजा, जात्रा तथा सांस्कृतिक गतिविधि सञ्चालन हुँदैछन्।







प्रतिक्रिया