काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३ सुरु भएको छ। नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीका अवसरमा आयोजित प्रदर्शनीमा घरजग्गा कारोबारसँगै सुरक्षित, व्यवस्थित तथा वातावरणमैत्री आवास निर्माणलाई विशेष प्राथमिकता दिइएको छ।
नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघले नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा आयोजना गरेको चारदिने प्रदर्शनीमा नेपाल र भारतका विभिन्न कम्पनी तथा व्यवसायीको सहभागिता रहेको छ।
प्रदर्शनीमा एक सयभन्दा बढी स्टल राखिएका छन्। अपार्टमेन्ट, जग्गा विकास आयोजना, निर्माण सामग्री, सिमेन्ट, स्टिल, पेन्ट्स, सेनिटरी फिटिङ्स, विद्युतीय उपकरण तथा इन्टेरियर डिजाइनका सामग्रीसँगै बैंक, वित्तीय संस्था, बीमा कम्पनी, अस्पताल, इन्जिनियरिङ कन्सल्टेन्सी र प्रिफ्याब प्रविधिसम्बन्धी सेवाहरू पनि प्रदर्शनमा छन्।
कागजरहित प्रदर्शनीलाई प्राथमिकता दिँदै डिजिटल स्ट्यान्डी, कियोस्क तथा भर्चुअल र अग्मेन्टेड रियालिटी प्रविधिको प्रयोग गरिएको आयोजकले जनाएको छ।
यसपटकको प्रदर्शनीको प्रमुख आकर्षण जलवायु परिवर्तन, विपद् प्रतिरोधी पूर्वाधार तथा सुरक्षित बस्ती निर्माणसम्बन्धी प्यानल छलफल रहनेछ। नीति निर्माता, सरकारी अधिकारी, इन्जिनियर, आर्किटेक्ट तथा निजी क्षेत्रका विज्ञहरूले सुरक्षित आवास, विपद् उत्थानशील पूर्वाधार र सार्वजनिक–निजी साझेदारीका विषयमा छलफल गर्नेछन्। भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुकलासम्बन्धी विज्ञबाट सर्वसाधारणलाई निःशुल्क परामर्श दिने व्यवस्था पनि गरिएको छ।
‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नारासहित आयोजना गरिएको प्रदर्शनीमा सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमसमेत सञ्चालन हुनेछ। ओम अस्पताल र ग्रान्डे इन्टरनेसनल अस्पतालको सहकार्यमा स्वास्थ्यसम्बन्धी कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ। हालैको बाढीबाट प्रभावित रसुवाका नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचार प्याकेजको व्यवस्था गरिएको छ। आयोजकका अनुसार चार दिनसम्म चल्ने प्रदर्शनीमा करिब ६५ हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।
प्रदर्शनी असोज १ देखि ४ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ।







प्रतिक्रिया