काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरूले कुल ५ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा समग्र नाफा १०.५२ प्रतिशतले घटे पनि ८ कम्पनीले नाफा वृद्धि गर्न सफल भएका छन्।
नाफा रकमका आधारमा आईएमई लाइफ पहिलो बनेको छ। कम्पनीले ५८ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। दोस्रोमा रहेको रिलायबल नेपाल लाइफले ५८ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ। नाफा वृद्धिदरमा भने सिटिजन लाइफ सबैभन्दा अगाडि छ। कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा १०६.६३ प्रतिशतले बढेर ३९ करोड ८ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, एलआईसी नेपालले ४० करोड ५८ लाख, एशियन लाइफले ४१ करोड ४२ लाख, सूर्यज्योति लाइफले ३८ करोड २ लाख, सानिमा रिलायन्स लाइफले ३८ करोड ३८ लाख र प्रभु महालक्ष्मी लाइफले करिब ३७ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। यीमध्ये अधिकांश कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा बढेको छ। यता नेपाल लाइफ, सन नेपाल लाइफ, नेशनल लाइफ, मेटलाइफ र हिमालयन लाइफको नाफा घटेको छ। राष्ट्रिय जीवन बीमा कम्पनी भने २ करोड ३८ लाख रुपैयाँ खुद घाटामा गएको छ।
बीमा कम्पनीहरूको नाफामा आएको दबाबको प्रमुख कारण बैंकको ब्याजदर घट्नु देखिएको छ। जीवन बीमा कम्पनीहरूको ठूलो हिस्सा मुद्दती निक्षेपमा लगानी हुने भएकाले ब्याजदर घट्दा लगानी आम्दानीमा समेत असर परेको हो।
समग्रमा नाफा घटे पनि ८ कम्पनीको सुधार, आईएमई लाइफको सर्वाधिक नाफा र सिटिजन लाइफको शतप्रतिशतभन्दा बढी वृद्धि जीवन बीमा क्षेत्रमा देखिएका सकारात्मक पक्ष हुन्।







प्रतिक्रिया