२०८३, ३० श्रावण आईतबार

भृकुटीमण्डपमा भविष्यको मोबिलिटीको झलक : पाँच दिनमै डेढ लाख दर्शक, आज नाइमा एक्स्पोको अन्तिम दिन

भृकुटीमण्डपमा भविष्यको मोबिलिटीको झलक : पाँच दिनमै डेढ लाख दर्शक, आज नाइमा एक्स्पोको अन्तिम दिन


काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को पाँचौँ दिनसम्म आइपुग्दा आयोजकले राखेको दर्शक लक्ष्य पूरा भएको छ। साउन २६ गतेदेखि सुरु भएको एक्स्पोको पाँच दिनमै १ लाख ५० हजारभन्दा बढीले अवलोकन गरेका छन्। आज आइतबार साउन ३१ गते एक्स्पोको अन्तिम दिन हो।

शनिबार मात्रै ४२ हजार दर्शक एक्स्पो पुगेका थिए। यसअघि पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए। नाइमा एक्स्पोले ६ दिनमा १ लाख ५० हजारभन्दा बढी दर्शक भित्र्याउने लक्ष्य राखेको थियो। लक्ष्य एक दिनअघि नै पूरा भएपछि आयोजक उत्साहित छ।

लगातारको वर्षाका बीच पनि शनिबार भृकुटीमण्डपमा दर्शकको चाप उल्लेख्य देखियो। भीड बढेपछि पार्किङ व्यवस्थापनसमेत चुनौतीपूर्ण बनेको थियो। भृकुटीमण्डप परिसरका खाली स्थान, नेपाल प्रहरी क्लबका दुई तला तथा खाद्य गोदाम ग्राउन्डमा पार्किङको व्यवस्था गरिएको थियो।

अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अपेक्षाभन्दा बढी सहभागिता हुनु एक्स्पोको सफलताको संकेत भएको बताए। उनका अनुसार अन्तिम दिन पनि ठूलो संख्यामा दर्शक आउने अपेक्षा गरिएको छ।

५५ भन्दा बढी ब्रान्ड, ५३ नयाँ मोडल

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा छन्। विभिन्न कम्पनीले नयाँ मोडल सार्वजनिक गर्दै ग्राहकको ध्यान तानिरहेका छन्। पाँचौँ दिन लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी मोटरहबले आर्कफक्स क्रसओभर सार्वजनिक गरेको थियो।

एक्स्पो अवधिमा हालसम्म विभिन्न ब्रान्डले ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेका छन्। विद्युतीय कार, ई–स्कुटर, प्रिमियम एसयूभीदेखि विद्युतीय व्यावसायिक सवारीसाधनसम्म प्रदर्शनीमा छन्।

चारपाङ्ग्रे र दुईपाङ्ग्रे दुवै सवारीसाधनमा दर्शकको आकर्षण देखिएको छ। विशेषगरी नयाँ प्रविधि, विद्युतीय सवारी र महँगा ब्रान्डका मोडलमा युवाको चासो बढी देखिएको आयोजकको भनाइ छ।

ग्राहकको प्रश्न पनि फेरिँदै

नाइमा एक्स्पोमा पुगेका ग्राहकका प्रश्नले पनि नेपाली अटो बजारको बदलिँदो प्रवृत्ति देखाएको छ। उनीहरू केवल गाडीको मूल्य र डिजाइनबारे सोधिरहेका छैनन्।

ब्याट्री क्षमता कति हो ? एकपटक चार्ज गर्दा कति चल्छ ? ब्याट्रीको वारेन्टी कति वर्षको छ ? सर्भिसिङ सुविधा कहाँ छ ? चार्जिङ पूर्वाधार कस्तो छ ? केही वर्षपछि रिसेल भ्यालु कस्तो रहला ?—यस्ता प्रश्नमा ग्राहकको विशेष चासो देखिएको छ।

यसले नेपाली उपभोक्ता अब सवारीसाधन खरिद गर्दा प्रविधि, सञ्चालन लागत, सेवा सुविधा र दीर्घकालीन उपयोगितालाई समेत प्राथमिकतामा राख्न थालेको देखाउँछ।

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले ठूलो संख्यामा अवलोकनकर्ताको उपस्थितिले एक्स्पो सफल भएको बताइन्। पारामाउन्ट मोटर्सका प्रबन्ध निर्देशक शिरीषकुमार मुरारकाले पनि ठूलो संख्यामा ग्राहक तथा दर्शक आकर्षित गर्न सक्नु नाइमाको महत्वपूर्ण सफलता भएको बताए।

गाडी मात्र होइन, मोबिलिटीको भविष्य पनि

नाइमा एक्स्पोको विशेषता नयाँ गाडी प्रदर्शनमा मात्र सीमित छैन। एक्स्पोमा नेपालको आगामी मोबिलिटीबारे बहससमेत भइरहेको छ।

शनिबार ‘AI and Automotive Technology: Driving the Future of Mobility’ विषयमा संवाद भयो। यसअघि ‘Battery Recycle and Ethanol Blending in Fuel’, ‘Mobilizing Mobility through Finance & Insurance’ तथा ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयमा छलफल भएको थियो।

एक्स्पोको पहिलो दिन ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing–Fuel for Economic Growth’ विषयमा बहस गरिएको थियो।

यी छलफलले नेपालमा यातायातको भविष्य विद्युतीकरण, कृत्रिम बुद्धिमत्ता, हरित ऊर्जा, स्मार्ट प्रविधि र डिजिटल सेवासँग जोडिँदै गएको संकेत गर्छ।

अफरले थपेको आकर्षण

नयाँ प्रविधिसँगै विभिन्न कम्पनीका विशेष अफरले पनि ग्राहकलाई आकर्षित गरेका छन्। कम्पनीहरूले मूल्य छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, निःशुल्क सर्भिसिङ तथा सहुलियत ब्याजदरमा कर्जालगायतका सुविधा उपलब्ध गराइरहेका छन्।

बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले पनि एक्स्पो केन्द्रित योजना सार्वजनिक गरेका छन्। त्यसैले एक्स्पो नयाँ गाडी हेर्ने थलो मात्र नभई मूल्य तुलना गर्ने, प्रविधि बुझ्ने र खरिदको निर्णय लिन सकिने ठूलो प्लेटफर्म बनेको छ।

आज अन्तिम दिन

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को आज अन्तिम दिन हो।

पाँच दिनमै १ लाख ५० हजारभन्दा बढी दर्शक पुगिसकेकाले अन्तिम दिनको सहभागिता थप बढ्ने अपेक्षा गरिएको छ। वर्षाका बाबजुद देखिएको दर्शकको उत्साहले नेपाली उपभोक्ताको सवारी रुचिमा आएको परिवर्तनलाई स्पष्ट देखाएको छ।

भृकुटीमण्डपमा अहिले केवल नयाँ कार र मोटरसाइकल प्रदर्शन भइरहेका छैनन्। नेपालको अटो बजार पेट्रोल–डिजेलबाट विद्युतीय र स्मार्ट मोबिलिटीतर्फ कसरी अघि बढिरहेको छ भन्ने भविष्यको तस्वीरसमेत देखिँदैछ।

आजको अन्तिम दिनले नाइमा एक्स्पोको दर्शक सहभागिताको नयाँ आँकडा तय गर्नेछ। तर पाँच दिनको भीडले एउटा सन्देश भने स्पष्ट दिइसकेको छ—नेपालको मोबिलिटी बजारमा नयाँ प्रविधिको लहर सुरु भइसकेको छ।

प्रकाशित मिति : २०८३, ३० श्रावण आईतबार  ९ : १९ बजे

भारतीय प्रधानसेनापति सेठ आज काठमाडौंमा, मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपालको औपचारिक

हर्मुजमा यूएईको तेल ट्यांकरमाथि इरानले आक्रमण गरेको आरोप

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले हर्मुज जलमार्गमा आफ्नो

नाफामा छलाङ मार्दै नेपाल टेलिकम, ४७.५८ प्रतिशत वृद्धि

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा ८

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयमा सर्वोच्चको ब्रेक

काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री तथा स्वामित्व परिवर्तनसम्बन्धी छानबिन प्रतिवेदन

वाम आन्दोलनको भविष्यबारे आज निर्णायक बहस : ‘अब कम्युनिष्ट आन्दोलन के गर्ने ?’

काठमाडौं । नेपालको वामपन्थी आन्दोलनभित्र बढ्दै गएको वैचारिक अन्योल, विभाजन