हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्रको विवाद थप चर्किएको छ। दलका नेता जगन्नाथ (जेएन) थपलियालाई हटाएर नयाँ नेतृत्व चयन गर्न माग गर्दै अविश्वासको प्रस्ताव दर्ता भएको छ।
थपलियाले संसदीय दललाई प्रभावकारी रूपमा नेतृत्व गर्न नसकेको आरोप लगाउँदै एमालेका सांसदहरूले नयाँ नेतृत्व चयनको माग गरेका हुन्। प्रस्तावमा १६ सांसदको हस्ताक्षर रहेको र थप दुई सांसदले समर्थन जनाएको उल्लेख छ। यससँगै प्रस्तावको पक्षमा समर्थन जनाउने सांसदको संख्या १८ पुगेको छ।
सांसद कृष्णप्रसाद सिलवालले विधानअनुसार सात दिनभित्र अविश्वास प्रस्तावको प्रक्रिया टुंग्याउनुपर्ने बताएका छन्। उनले सात दिनसम्म थपलियाले आवश्यक पहल नगरे त्यसपछि मत विभाजनको प्रक्रिया अघि बढ्ने बताएका छन्। प्रस्तावमा भनिएको छ, ‘माननीय जगन्नाथ थपलियाले गर्नुभएको नेतृत्वदायी भूमिकाप्रति हामीलाई चित्त नबुझेको हुँदा आगामी दिनमा नेकपा एमाले बागमती प्रदेश संसदीय दललाई सुदृढ रूपमा अगाडि बढाउनका लागि नयाँ नेतृत्व चयन गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ।’
यी हुन् थपलियाविरुद्ध उभिएका सांसद
१. अप्सरा चापागाईं – समर्थन जनाएको नोट
२. आनन्दकुमार श्रेष्ठ
३. किरण थापा मगर
४. कृष्णप्रसाद सिलवाल
५. जयराम थापा
६. डा. दिनेशचन्द्र देवकोटा
७. प्रेमभक्त महर्जन
८. बिन्दु श्रेष्ठ
९. भरतबहादुर केसी
१०. भारतीकुमारी पाठक
११. मधुसूदन पौडेल -फोनमार्फत समर्थन
१२. माईली तामाङ
१३. मायाकुमारी कार्की
१४. रघुनाथ महर्जन
१५. रामेश्वर श्रेष्ठ
१६. शकुन्तला श्रेष्ठ
१७. हरिप्रसाद सापकोटा
१८. ज्ञानबहादुर तामाङ
किरण थापालाई दलको नेता बनाउने तयारी
थपलियालाई हटाएर किरण थापा मगरलाई संसदीय दलको नेता बनाउने तयारी भएको बताइएको छ। थापालाई एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतको समर्थन रहेको दाबी गरिएको छ।
यसअघि पनि थापालाई दलको नेता बनाउने गरी सांसदहरूको हस्ताक्षर संकलन गरिएको थियो। पछि पार्टी नेतृत्व तहमा भएको सहमतिपछि थपलियालाई नै अघि सारिएको बताइएको थियो। अहिले पुनः थापालाई नेतृत्वमा ल्याउने प्रयास अघि बढेको हो।
गत १८ गते गुण्डुमा सांसदहरूलाई भेला गरेका एमाले अध्यक्ष ओलीले सरकार गठनका लागि बहुमत जुटाउन सक्ने व्यक्तिले त्यसको पहल गर्नुपर्ने धारणा राखेको बताइएको छ।
यसैबीच, थपलिया हालै स्वास्थ्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। उनले चिकित्सकको सल्लाहअनुसार केही समय आराम र नियमित औषधि सेवन गर्नुपर्ने भएकाले तत्काल राजनीतिक तथा सार्वजनिक गतिविधिमा सक्रिय हुन नसक्ने बताएका छन्। पूर्ण स्वास्थ्यलाभपछि पार्टीको जिम्मेवारीमा थप सक्रिय हुने उनको भनाइ छ।
बहुमत जुटाउने चुनौती
१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस ३६ सांसदसहित सबैभन्दा ठूलो दल हो भने नेकपा २६ र एमाले २५ सांसदसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।
एमालेले कांग्रेस नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको भए पनि एमाले र नेकपाको सांसद संख्या मात्रै जोड्दा बहुमत पुग्दैन।
त्यसैले एमालेभित्रको संसदीय दलको नेतृत्व परिवर्तनसँगै नयाँ सरकार गठनका लागि अन्य दलको समर्थन जुटाउने राजनीतिक समीकरणसमेत निर्णायक बन्ने देखिएको छ।






प्रतिक्रिया