काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध कडा आक्रोश पोखेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक को पक्राउलाई लिएर एमालेले संसद्मै सरकारमाथि ठाडो चुनौती दिएको हो।
एमाले सांसद गुरु बराल ले बैठकमा बोल्दै ओली र लेखकलाई “संविधानविपरीत” ढंगले पक्राउ गरिएको आरोप लगाए। उनले मुलुकी कार्यविधि संहिताको दफा १८१ र १८२ को दुरुपयोग गरेर राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको दाबी गरे।
“यो केवल कानुनी प्रक्रिया होइन, प्रतिशोधपूर्ण राजनीतिक कदम हो,” बरालले संसद्मा भने, “पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई यसरी बन्दी बनाउनु लोकतान्त्रिक मूल्यको घोर उल्लंघन हो।” सभामुख अर्जुननरसिंह केसी ले समय दिएपछि आक्रामक रूपमा प्रस्तुत भएका बरालले देशभर यसको विरोध भइरहेको दाबी गर्दै सरकारमाथि “निर्मम दमन” गरेको आरोपसमेत लगाए।
एमालेले संसद्बाटै स्पष्ट माग राख्दै दुवै नेताको “तत्काल रिहाइ” हुनुपर्ने जनाएको छ। अन्यथा, सडक र सदन दुवैबाट सशक्त प्रतिरोध गर्ने संकेत दिएको छ।
यस घटनाले सत्ता–प्रतिपक्षबीचको टकरावलाई थप तीव्र बनाएको छ। संसद्को पहिलो बैठकमै देखिएको यस्तो टकरावले आगामी दिनमा राजनीतिक ध्रुवीकरण अझ गहिरिने संकेत देखिएको छ।








प्रतिक्रिया