नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल भूगोल होइन, राष्ट्रिय संवेदनशीलताको जीवित सिमाना हो। हिमाल, महाकाली नदी र अन्तर्राष्ट्रिय सीमाले घेरिएको यो जिल्ला सधैं राष्ट्रवादको अग्रपंक्तिमा उभिएको छ। यहाँ राष्ट्रियता भाषणको विषय मात्र होइन, दैनिक जीवनको अनुभूति हो । यही भूमिमा जन्मिएका गणेशसिंह ठगुन्नाको राजनीतिक यात्रा सीमाना, विकास र आत्मसम्मानको कथा बनेको छ ।
वि.सं. २०२५ सालमा महाकाली नगरपालिका-५ किम्तडीमा जन्मिएका ठगुन्नाले विद्यार्थी जीवनदेखि नै संगठन र विचारको राजनीति रोजे। २०४५ सालमा अनेरास्ववियू दार्चुला–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष बनेर सार्वजनिक जीवनमा प्रवेश गरेका उनले त्यस समयको विद्यार्थी आन्दोलनलाई वैचारिक प्रशिक्षणको मैदानका रूपमा लिए। त्यहीँबाट उनले संघर्ष, संगठन र प्रतिबद्धताको अर्थ बुझे । २०४७ सालपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जिल्ला कमिटीमा सक्रिय बनेका उनले २०५०, २०५३, २०६३ र २०६६ सालका अधिवेशनबाट चार कार्यकाल जिल्ला प्रमुखको जिम्मेवारी सम्हाले। दार्चुलामा पार्टी संगठन विस्तार र राजनीतिक चेतना सुदृढीकरण उनको नेतृत्वकालको महत्वपूर्ण पक्ष मानिन्छ।
तर राष्ट्रिय स्तरमा उनको नाम चर्चामा आयो सीमाको विषयले। कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र दशकौँदेखि विवादित रहँदै आएका थिए। सांसदका रूपमा उनले संसदमा निरन्तर आवाज उठाए, सरकारलाई लिखित ध्यानाकर्षण गराए र अतिक्रमित भूभाग नेपालको नक्सामा समेटिनुपर्ने माग दोहोर्याइरहे।

वि.सं. २०७७ जेठ ७ गते उक्त भूभाग समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक भयो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा जारी ‘चुच्चे नक्सा’ राष्ट्रिय आत्मसम्मानको प्रतीकका रूपमा स्थापित भयो। सीमावर्ती जिल्लाबाट निरन्तर उठेको आवाजले त्यस निर्णयलाई बल दिएको विश्लेषण गरिन्छ।
ठगुन्नाको दृष्टि नक्सामा मात्र सीमित रहेन। महाकाली करिडोरअन्तर्गत दार्चुला–तिंकर सडक निर्माणलाई उनले प्राथमिकता दिए। सीमाक्षेत्रमा राज्यको उपस्थिति मजबुत बनाउन नेपाली सेनामार्फत सडक निर्माण अघि बढाइयो। छाङ्गरुमा सशस्त्र प्रहरीको स्थायी गुल्म, टिंकरमा बीओपी स्थापना र व्याँस क्षेत्रसम्म आफ्नै भूगोल हुँदै आवतजावत सुनिश्चित हुनु स्थानीयका लागि ऐतिहासिक उपलब्धि बने।
२०५४ सालमा जिल्ला विकास समिति सभापति निर्वाचित भएपछि उनले योजनाबद्ध विकासको आधार तयार गरे। दुर्गम बस्तीमा सडक विस्तार, लिफ्टिङ खानेपानी आयोजना, विद्यालय भवन निर्माण र स्वास्थ्य पूर्वाधार सुधारलाई प्राथमिकता दिइयो। जिल्ला अस्पतालमा ५० शैय्याको भवन निर्माण र पालिकास्तरमा आधारभूत अस्पताल स्थापना प्रक्रियाले सेवा पहुँच विस्तार गर्यो।गोकुलेश्वर विमानस्थल पुनर्जीवनको पहलले हिमाली जिल्लाको हवाई पहुँच सुदृढ गर्ने लक्ष्य लिएको थियो। ग्रामीण विद्युतीकरणमार्फत व्याँस र अपिहिमालतर्फ विद्युत विस्तार गरिनु विकासको अर्को आयाम बन्यो।
२०७० सालमा संविधानसभा सदस्य र २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हाल्दा उनले संघीयताको कार्यान्वयन, स्थानीय तह सुदृढीकरण र हिमाली जिल्लाका लागि विशेष कार्यक्रमलाई प्राथमिकता दिए। दार्चुलामा उनलाई विकासवादी र राष्ट्रवादी नेताका रूपमा चिनिन्छ। सीमाको सवालमा स्पष्ट अडान, विकासमा निरन्तरता र तुलनात्मक रूपमा विवादरहित छविले उनको राजनीतिक विश्वसनीयता बलियो बनाएको मानिन्छ।
सीमाको छेउमा बसेर राष्ट्रियताको अर्थ बुझ्ने दार्चुलाका लागि गणेशसिंह ठगुन्नाको यात्रा केवल व्यक्तिगत राजनीतिक उत्थान होइन; भूगोललाई नक्सामा, र नक्सालाई व्यवहारमा बदल्ने निरन्तर प्रयासको कथा हो। हिमालजस्तै अडान र नदीजस्तै निरन्तरतासहित उभिएको यो नेतृत्व दार्चुलाको समकालीन इतिहासमा विशिष्ट अध्याय बनेको छ।
–नरेन्द्र कार्की ,लेखक प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेश समितिका अध्यक्ष हुनुहुन्छ । नरेन्द्र कार्की






प्रतिक्रिया