नेकपा एमाले आज ऐतिहासिक मोडमा उभिएको छ । यो केवल चुनाव जित्ने-हार्नेको विषय होइन । हाम्रो संगठन जनताको पक्षमा रहिरहन्छ कि केवल पद र समीकरणको खेलमा फस्छ भन्ने निर्णायक कुरा हो ।
विगतका अनुभवले स्पष्ट देखाइसक्यो, जनताबाट टाढा भएको क्रान्तिकारी पार्टी अन्तत : क्रान्तिकारी रहँदैन । यदि हामीले अहिलेको अवस्थामा सचेत कदम चाल्यौँ भने मात्र पार्टीको भविष्य सुनिश्चित गर्न सकिन्छ, र प्रतिक्रान्तिकारीहरुको हार निश्चीत हुन्छ ।
पार्टीको राजनीति आजभोली काठमाडौँकेन्द्रित भएको छ । बैठक, समीकरण र शक्ति संरचना निर्माणमा संगठनको ऊर्जा खर्च भइरहेको छ, तर गाउँ–गाउँमा जनता दिनप्रतिदिन थप समस्यामा परिरहेका छन् । यसले पार्टी कार्यकर्तालाई कठोर परिस्थितिमा उभ्याइरहेको छ । कार्यकर्ता, जसलाई पार्टीको मेरुदण्ड मानिन्छ, आज गाउँ–टोलमा प्रतिमागीहरुको सामना गर्दैछन् । नेतृत्व केवल निर्देशन दिने, समीकरण जोगाउने र फोटो-सेशनमा व्यस्त छ भने नेता कार्यकर्ता जनताको वास्तविक समस्या समधान गर्न असमर्थ हुन्छन् ।
नेकपा एमाले कुनै सत्तामुखी पार्टीका रूपमा मात्रै जन्मिएको थिएन । यो पार्टी संघर्ष, त्याग, वलिदान र संगठनको बलमा जन्मिएको हो । तर आज कार्यकर्ताले आफूलाई प्रश्न गर्दै छन् । “हामीले पार्टीका लागि संघर्ष गर्यौँ, तर पार्टी जनताका लागि कति उभियो ?” यो प्रश्नलाई असन्तुष्टिको स्वर भनेर पन्छाउन खोज्नु पार्टी संगठनका लागि आत्मघात हुनेछ ।
राजनीति केवल पद र सत्ताको खेल होइन । राजनीति जनताको जीवन बदल्ने संघर्ष हो । तर आजको पार्टीको बहस को प्रधानमन्त्री हुन्छ, कुन समूह बलियो छ, कुन समीकरण सुरक्षित छ जस्ता गौण विषयमा केन्द्रित छ । यही प्राथमिकताको उल्टोपनले पार्टी संगठन कमजोर भएको छ । परिणामस्वरूप, पार्टीको शक्ति केवल कार्यालय, बैठक र कागजमा सीमित रहँदैछ, जनतासँगको प्रत्यक्ष सम्बन्ध कमजोर हुँदै गएको छ ।
आजको आवश्यकता स्पष्ट छ–सक्रियता, उन्नत संवाद र समाधानमुखी दृष्टिकोण । जनताले भाषण वा फोटो खोज्दै छैन ; उनीहरू सहयोग र समाधान खोजिरहेका छन् । पार्टीको शक्ति कागजमा होइन, जनतासँगको सम्बन्धमा बाँच्दछ । वडा, टोल र सबै तहका कमिटीहरू केवल औपचारिकता होइन, ती पार्टी संगठनका प्राण हुन् । जब यी कमिटी निष्क्रिय हुन्छन्, पार्टीको आधार कमजोर हुन्छ ।
कार्यकर्ताको भूमिका स्पष्ट हुनुपर्छ–पार्टीको पोस्टर होइन, पार्टीको मेरुदण्ड हुन् । फोटो खिच्नु वा भाषण दिने काम होइन; जनताको समस्या नेतृत्वसम्म पुर्याउनु, समाधान खोज्नु, र कार्यान्वयनमा जोड दिनु कार्यकर्ताको मुख्य जिम्मेवारी पनि हो । कार्यकर्ताहरु मौन रहँदा पार्टी कमजोर हुन्छ । प्रश्न सोध्नु पार्टीविरोध होइन; प्रश्न सोध्नु, सुझाव दिनु, सुधारको माग गर्नु पार्टीलाई बचाउने संघर्ष हो । पार्टीको पुनजागरण पनि ।
नेतृत्वलाई अब स्पष्ट हुनुपर्छ, आदेश दिने समय सकियो, सुन्ने समय सुरु भयो । केवल केन्द्रमा बसेर निर्देश मात्रै पठाउने होइन, गाउँ–टोलमा पुगेर अवस्था बुझ्नुपर्छ । केवल कुर्सी सुरक्षित गर्ने होइन, भरोसा पुनःनिर्माण गर्नुपर्छ । काठमाडौँ बसेर पार्टी बलियो हुँदैन, समीकरण जोगाएर संगठन बलियो हुँदैन । नेतृत्वको घेराभित्र घुमेर पार्टीको क्रान्तिकारी जीवन बाँच्दैन । नेतृत्वको आलोचना र संरक्षण दुबै हुनुपर्छ । नेतृत्व र कार्यकर्ताले मिलेर सक्रिय संगठन, प्रत्यक्ष संवाद, गल्ती स्वीकार गर्ने साहस र समाधानसहित जनतासँग जाने दृढता देखाउनुपर्छ । यही सामूहिक सक्रियता एमालेलाई क्रान्तिकारी र जनमुखी पार्टीको रूपमा पुनःस्थापित गर्ने आधार हो ।
पार्टीलगर्ने क्रान्ति केवल नारा र भाषणमा सीमित हुनु हुँदैन । क्रान्ति जनताको जीवनमा देखिनुपर्छ । युवा, महिला, दलित, किसान र मजदूरको जीवनमा पार्टीको उपस्थितिले मूल्य दिनुपर्छ । यदि हाम्रो उपस्थितिले जनतालाई शक्ति र सुरक्षा प्रदान गर्न सकेन भने पार्टीको क्रान्तिकारी हक अर्कै बाटोमा विलिन हुन्छ ।
आजको राजनीति नेतृत्व केन्द्रित छ, जनकेन्द्रित छैन । नेतृत्व बोल्छ, जनता सुन्छ–यो एकतर्फी अभ्यासले अब काम गर्दैन । लोकतन्त्र भनेको संवाद, सहभागिता र जवाफदेहिता पनि हो । आम जनता केवल सुन्ने होइन, बोल्ने अधिकार पनि खोजिरहेका छन् । यदि यो अधिकार दबाइयो भने असन्तोष विस्फोटमा बदलिन सक्छ ।
अब पार्टी कार्यकर्ताहरुको प्राथमिकता स्पष्ट हुनुपर्छ–सत्ता जित्ने अभ्यासभन्दा संगठन बलियो बनाउने, जनतामुखी नीति बनाउने, समस्या समाधान गर्ने, कार्यकर्ताको शक्ति उपयोग गर्ने, र जनविश्वास पुनःनिर्माण गर्ने काम महत्वपूर्ण छ । केवल पद र सत्तामा मात्रै केन्द्रित भयो भने पार्टी संगठनको भविष्य अन्धकारमय हुनेछ ।
सन्देशः अब नारा बदल्ने होइन, आचरण बदल्ने समय हो । पदको होइन, जनताको पक्ष रोज्ने समय हो । फोटो सेशन र भाषणको होइन, काम र परिणामको मूल्यांकन हुने समय हो । नेताले मात्र होइन, कार्यकर्ताले पनि आफ्नो दायित्व महसुस गर्नु पर्छ । संगठनमा मौन हुनु अब विकल्प होइन; सक्रियता, संवाद, समस्या समाधान र जनमुखी दृष्टिकोण अब बाध्यता हो ।
हाम्रो इतिहास सधैं जनताको पक्षमा उभिने शक्तिको साथमा उभिएको छ । सत्ता क्षणिक हुन्छ, तर जनसम्बन्ध दीर्घकालीन हुन्छ । यही सत्य आत्मसात् गर्न नसक्ने शक्ति समयको कठघरामा उभिन बाध्य हुनेछ ।
एमाले जनताको पार्टी रहन्छ कि सत्ताको वरिपरि घुम्ने पार्टी बन्छ, यो निर्णय अब नेतृत्व र कार्यकताको हातमा । जिम्मेवारी केवल नेताको होइन, सम्पूर्ण कार्यकर्ता र संगठनको काँधमा छ ।
कार्यकर्ताको सक्रियता, जनतासँगको प्रत्यक्ष संवाद, गल्ती स्वीकार गर्ने साहस, र समाधानसहित जनतामाझ जाने दृढता,यी सबै पार्टीको भविष्य निर्धारण गर्ने आधार हुन् । ढिलाइ गर्ने समय छैन । नेतृत्व र कार्यकर्ताले अब आफ्नो भूमिकामा पूर्ण रूपमा उभिनु आवश्यक छ । यही सामूहिक सक्रियताले एमालेलाई क्रान्तिकारी र जनमुखी पार्टीको रूपमा पुनःस्थापित गर्नेछ ।
सत्ता क्षणिक हुन्छ, पद अस्थायी हुन्छ, तर जनतासँगको भरोसा र सक्रिय कार्यकर्ता पार्टी संगठन दीर्घकालीन शक्ति हो । पार्टीले आज देखाएको निर्णय, सक्रियता र जनमुखी दृष्टिकोण नै इतिहासमा यसको वास्तविक योगदानको प्रमाण बन्नेछ ।
आजको आवश्यकता ईतिहासको गौरव गर्ने मात्रै होइन, वर्तमान जिम्मेवारी बहन गर्ने हो । केवल भाषण, पोस्टर, फोटो र प्रचारमा सीमित हुने पार्टी र कार्यकर्ताले अब काम गर्दैन ।समीकरण र सत्ताले पार्टी बचाउँदैन । अब आवश्यक छ सकारात्मक कार्य, प्रत्यक्ष संवाद, समाधान र जनमुखी नीतिहरू ।
यदि हामीले आज सक्रियता र जिम्मेवारी नदेखायौँ भने, पार्टीले आफ्नो क्रान्तिकारी नाम मात्र राख्नेछ र जनतासँगको सम्बन्ध र भरोसा खतरामा पर्ने छ । यही कारणले अब समय आएको छ, जागृत होऔँ, संगठन र जनतासँग प्रत्यक्ष रूपमा जोडिऔँ, गल्ती स्वीकार गरौँ, समस्या समाधान गरौँ, र जनविश्वास पार्टी पुनःनिर्माण जोड गरौँ ।
परिवर्तन, क्रान्ति भाषणमा होइन, जनताको जीवनमा देखिनुपर्छ । पार्टीको अस्तित्व केवल सत्ता र पदमा सीमित रहनु हुँदैन । पार्टीको अस्तित्व जनतासँगको विश्वास, संगठनको सक्रियता र जनमुखी नेतृत्वमा निर्भर छ । यही दृष्टिकोणले एमालेलाई सत्तामुखी पार्टीभन्दा जनतामुखी क्रान्तिकारी पार्टी बनाउनेछ ।
लेखक प्रवासी नेपाली मन्च
अन्तर्राष्ट्रीय कमिटी,उप सचिव तथा प्रचार बिभाग प्रमुख हुनुहुन्छ ।






प्रतिक्रिया