२०८३, ५ असार शनिबार

एमालेजनलाई सन्देश, सत्ता होइन, जनता केन्द्रित हुनुहोस्

एमालेजनलाई सन्देश, सत्ता होइन, जनता केन्द्रित हुनुहोस्


नेकपा एमाले आज ऐतिहासिक मोडमा उभिएको छ । यो केवल चुनाव जित्ने-हार्नेको विषय होइन । हाम्रो संगठन जनताको पक्षमा रहिरहन्छ कि केवल पद र समीकरणको खेलमा फस्छ भन्ने निर्णायक कुरा हो ।
विगतका अनुभवले स्पष्ट देखाइसक्यो, जनताबाट टाढा भएको क्रान्तिकारी पार्टी अन्तत : क्रान्तिकारी रहँदैन । यदि हामीले अहिलेको अवस्थामा सचेत कदम चाल्यौँ भने मात्र पार्टीको भविष्य सुनिश्चित गर्न सकिन्छ, र प्रतिक्रान्तिकारीहरुको हार निश्चीत हुन्छ ।
पार्टीको राजनीति आजभोली काठमाडौँकेन्द्रित भएको छ । बैठक, समीकरण र शक्ति संरचना निर्माणमा संगठनको ऊर्जा खर्च भइरहेको छ, तर गाउँ–गाउँमा जनता दिनप्रतिदिन थप समस्यामा परिरहेका छन् । यसले पार्टी कार्यकर्तालाई कठोर परिस्थितिमा उभ्याइरहेको छ । कार्यकर्ता, जसलाई पार्टीको मेरुदण्ड मानिन्छ, आज गाउँ–टोलमा प्रतिमागीहरुको सामना गर्दैछन् । नेतृत्व केवल निर्देशन दिने, समीकरण जोगाउने र फोटो-सेशनमा व्यस्त छ भने नेता कार्यकर्ता जनताको वास्तविक समस्या समधान गर्न असमर्थ हुन्छन् ।

नेकपा एमाले कुनै सत्तामुखी पार्टीका रूपमा मात्रै जन्मिएको थिएन । यो पार्टी संघर्ष, त्याग, वलिदान र संगठनको बलमा जन्मिएको हो । तर आज कार्यकर्ताले आफूलाई प्रश्न गर्दै छन् । “हामीले पार्टीका लागि संघर्ष गर्यौँ, तर पार्टी जनताका लागि कति उभियो ?” यो प्रश्नलाई असन्तुष्टिको स्वर भनेर पन्छाउन खोज्नु पार्टी संगठनका लागि आत्मघात हुनेछ ।

राजनीति केवल पद र सत्ताको खेल होइन । राजनीति जनताको जीवन बदल्ने संघर्ष हो । तर आजको पार्टीको बहस को प्रधानमन्त्री हुन्छ, कुन समूह बलियो छ, कुन समीकरण सुरक्षित छ जस्ता गौण विषयमा केन्द्रित छ । यही प्राथमिकताको उल्टोपनले पार्टी संगठन कमजोर भएको छ । परिणामस्वरूप, पार्टीको शक्ति केवल कार्यालय, बैठक र कागजमा सीमित रहँदैछ, जनतासँगको प्रत्यक्ष सम्बन्ध कमजोर हुँदै गएको छ ।
आजको आवश्यकता स्पष्ट छ–सक्रियता, उन्नत संवाद र समाधानमुखी दृष्टिकोण । जनताले भाषण वा फोटो खोज्दै छैन ; उनीहरू सहयोग र समाधान खोजिरहेका छन् । पार्टीको शक्ति कागजमा होइन, जनतासँगको सम्बन्धमा बाँच्दछ । वडा, टोल र सबै तहका कमिटीहरू केवल औपचारिकता होइन, ती पार्टी संगठनका प्राण हुन् । जब यी कमिटी निष्क्रिय हुन्छन्, पार्टीको आधार कमजोर हुन्छ ।

कार्यकर्ताको भूमिका स्पष्ट हुनुपर्छ–पार्टीको पोस्टर होइन, पार्टीको मेरुदण्ड हुन् । फोटो खिच्नु वा भाषण दिने काम होइन; जनताको समस्या नेतृत्वसम्म पुर्‍याउनु, समाधान खोज्नु, र कार्यान्वयनमा जोड दिनु कार्यकर्ताको मुख्य जिम्मेवारी पनि हो । कार्यकर्ताहरु मौन रहँदा पार्टी कमजोर हुन्छ । प्रश्न सोध्नु पार्टीविरोध होइन; प्रश्न सोध्नु, सुझाव दिनु, सुधारको माग गर्नु पार्टीलाई बचाउने संघर्ष हो । पार्टीको पुनजागरण पनि ।

नेतृत्वलाई अब स्पष्ट हुनुपर्छ, आदेश दिने समय सकियो, सुन्ने समय सुरु भयो । केवल केन्द्रमा बसेर निर्देश मात्रै पठाउने होइन, गाउँ–टोलमा पुगेर अवस्था बुझ्नुपर्छ । केवल कुर्सी सुरक्षित गर्ने होइन, भरोसा पुनःनिर्माण गर्नुपर्छ । काठमाडौँ बसेर पार्टी बलियो हुँदैन, समीकरण जोगाएर संगठन बलियो हुँदैन । नेतृत्वको घेराभित्र घुमेर पार्टीको क्रान्तिकारी जीवन बाँच्दैन । नेतृत्वको आलोचना र संरक्षण दुबै हुनुपर्छ । नेतृत्व र कार्यकर्ताले मिलेर सक्रिय संगठन, प्रत्यक्ष संवाद, गल्ती स्वीकार गर्ने साहस र समाधानसहित जनतासँग जाने दृढता देखाउनुपर्छ । यही सामूहिक सक्रियता एमालेलाई क्रान्तिकारी र जनमुखी पार्टीको रूपमा पुनःस्थापित गर्ने आधार हो ।

पार्टीलगर्ने क्रान्ति केवल नारा र भाषणमा सीमित हुनु हुँदैन । क्रान्ति जनताको जीवनमा देखिनुपर्छ । युवा, महिला, दलित, किसान र मजदूरको जीवनमा पार्टीको उपस्थितिले मूल्य दिनुपर्छ । यदि हाम्रो उपस्थितिले जनतालाई शक्ति र सुरक्षा प्रदान गर्न सकेन भने पार्टीको क्रान्तिकारी हक अर्कै बाटोमा विलिन हुन्छ ।

आजको राजनीति नेतृत्व केन्द्रित छ, जनकेन्द्रित छैन । नेतृत्व बोल्छ, जनता सुन्छ–यो एकतर्फी अभ्यासले अब काम गर्दैन । लोकतन्त्र भनेको संवाद, सहभागिता र जवाफदेहिता पनि हो । आम जनता केवल सुन्ने होइन, बोल्ने अधिकार पनि खोजिरहेका छन् । यदि यो अधिकार दबाइयो भने असन्तोष विस्फोटमा बदलिन सक्छ ।
अब पार्टी कार्यकर्ताहरुको प्राथमिकता स्पष्ट हुनुपर्छ–सत्ता जित्ने अभ्यासभन्दा संगठन बलियो बनाउने, जनतामुखी नीति बनाउने, समस्या समाधान गर्ने, कार्यकर्ताको शक्ति उपयोग गर्ने, र जनविश्वास पुनःनिर्माण गर्ने काम महत्वपूर्ण छ । केवल पद र सत्तामा मात्रै केन्द्रित भयो भने पार्टी संगठनको भविष्य अन्धकारमय हुनेछ ।

सन्देशः अब नारा बदल्ने होइन, आचरण बदल्ने समय हो । पदको होइन, जनताको पक्ष रोज्ने समय हो । फोटो सेशन र भाषणको होइन, काम र परिणामको मूल्यांकन हुने समय हो । नेताले मात्र होइन, कार्यकर्ताले पनि आफ्नो दायित्व महसुस गर्नु पर्छ । संगठनमा मौन हुनु अब विकल्प होइन; सक्रियता, संवाद, समस्या समाधान र जनमुखी दृष्टिकोण अब बाध्यता हो ।

हाम्रो इतिहास सधैं जनताको पक्षमा उभिने शक्तिको साथमा उभिएको छ । सत्ता क्षणिक हुन्छ, तर जनसम्बन्ध दीर्घकालीन हुन्छ । यही सत्य आत्मसात् गर्न नसक्ने शक्ति समयको कठघरामा उभिन बाध्य हुनेछ ।

एमाले जनताको पार्टी रहन्छ कि सत्ताको वरिपरि घुम्ने पार्टी बन्छ, यो निर्णय अब नेतृत्व र कार्यकताको हातमा । जिम्मेवारी केवल नेताको होइन, सम्पूर्ण कार्यकर्ता र संगठनको काँधमा छ ।

कार्यकर्ताको सक्रियता, जनतासँगको प्रत्यक्ष संवाद, गल्ती स्वीकार गर्ने साहस, र समाधानसहित जनतामाझ जाने दृढता,यी सबै पार्टीको भविष्य निर्धारण गर्ने आधार हुन् । ढिलाइ गर्ने समय छैन । नेतृत्व र कार्यकर्ताले अब आफ्नो भूमिकामा पूर्ण रूपमा उभिनु आवश्यक छ । यही सामूहिक सक्रियताले एमालेलाई क्रान्तिकारी र जनमुखी पार्टीको रूपमा पुनःस्थापित गर्नेछ ।

सत्ता क्षणिक हुन्छ, पद अस्थायी हुन्छ, तर जनतासँगको भरोसा र सक्रिय कार्यकर्ता पार्टी संगठन दीर्घकालीन शक्ति हो । पार्टीले आज देखाएको निर्णय, सक्रियता र जनमुखी दृष्टिकोण नै इतिहासमा यसको वास्तविक योगदानको प्रमाण बन्नेछ ।

आजको आवश्यकता ईतिहासको गौरव गर्ने मात्रै होइन, वर्तमान जिम्मेवारी बहन गर्ने हो । केवल भाषण, पोस्टर, फोटो र प्रचारमा सीमित हुने पार्टी र कार्यकर्ताले अब काम गर्दैन ।समीकरण र सत्ताले पार्टी बचाउँदैन । अब आवश्यक छ सकारात्मक कार्य, प्रत्यक्ष संवाद, समाधान र जनमुखी नीतिहरू ।

यदि हामीले आज सक्रियता र जिम्मेवारी नदेखायौँ भने, पार्टीले आफ्नो क्रान्तिकारी नाम मात्र राख्नेछ र जनतासँगको सम्बन्ध र भरोसा खतरामा पर्ने छ । यही कारणले अब समय आएको छ, जागृत होऔँ, संगठन र जनतासँग प्रत्यक्ष रूपमा जोडिऔँ, गल्ती स्वीकार गरौँ, समस्या समाधान गरौँ, र जनविश्वास पार्टी पुनःनिर्माण जोड गरौँ ।

परिवर्तन, क्रान्ति भाषणमा होइन, जनताको जीवनमा देखिनुपर्छ । पार्टीको अस्तित्व केवल सत्ता र पदमा सीमित रहनु हुँदैन । पार्टीको अस्तित्व जनतासँगको विश्वास, संगठनको सक्रियता र जनमुखी नेतृत्वमा निर्भर छ । यही दृष्टिकोणले एमालेलाई सत्तामुखी पार्टीभन्दा जनतामुखी क्रान्तिकारी पार्टी बनाउनेछ ।

लेखक प्रवासी नेपाली मन्च
अन्तर्राष्ट्रीय कमिटी,उप सचिव तथा प्रचार बिभाग प्रमुख हुनुहुन्छ ।

प्रकाशित मिति : २०८२, २१ पुस सोमबार  १० : २७ बजे

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे