काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बिहीबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ।
पार्टी स्रोतका अनुसार, आजको बैठकमा ११ औं महाधिवेशनको तयारीबारे छलफल गरिनेछ। एमालेको महाधिवेशन आगामी मंसिर २७, २८, र २९ गते काठमाडौंमा हुने छ। यस महाधिवेशनमा २१ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधि चयन मंसिर १३ गते देशभर एकैदिन गरिने छ।
सचिवालय बैठकको अर्को प्रमुख एजेन्डा भनेको प्रतिनिधि सभा पुनःस्थापनाबारेको छलफल हुनेछ। एमालेले प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दा लिएर जनपरिचालनलाई तीव्रता दिएको छ। यसअघि बसेको सचिवालय बैठकले अदालत जाने तयारी गरिरहको भए पनि पार्टीले हालसम्म अदालतमा निवेदन दिएको छैन।
तर, एमालेले शुक्रबार अदालत जान तयारी गरेको छ। केही दिनअघि बसेको विघटित संसदीय दलको बैठकले यो कार्यको जिम्मेवारी निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनीता बराललाई दिएको थियो। सांसदहरू अधिकांशले यसमा हस्ताक्षर गरिसकेका छन्।
यसबाहेक, बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने एमालेले जनाएको छ।






प्रतिक्रिया