काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले डिजिटल कारोबारलाई थप सहज र ग्राहकमैत्री बनाउन ई–कमर्स प्लेटफर्म दराज नेपालसँग भुक्तानी सेवा सम्झौता गरेको छ। सम्झौता अनुसार, नेपाल बैंकका ग्राहकहरूले दराजमार्फत अनलाइन किनमेल गर्दा आकर्षक छुट सुविधा पाउनेछन्। यो योजना २०८२ साल कार्तिक २५ देखि मंसिर ६ गतेसम्म (नोभेम्बर ११–२२, २०२५) लागू हुनेछ।
सम्झौतामा बैंकका तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजका तर्फबाट प्रोजेक्ट लिड (डिजिटल पेमेन्ट तथा फाइनान्स सर्भिसेस) रिशव थापाले हस्ताक्षर गरेका हुन्। नेपाल बैंकले निरन्तर नविनता र प्रविधिमुखी सेवामा जोड दिँदै आएको छ। डिजिटल ग्राहकको संलग्नता बढाउन र अनलाइन कारोबारलाई प्रोत्साहन गर्न बैंकले ई–कमर्स कम्पनीहरूसँग सहकार्यलाई निरन्तरता दिइरहेको छ। यस अन्तर्गत, दराजसँगको साझेदारीले बैंकका ग्राहकलाई आधुनिक बैंकिङ सेवाको थप सुविधा प्रदान गर्ने विश्वास लिइएको छ।
बैंकका अनुसार
- डेबिट कार्ड प्रयोगकर्ताले दराजमा अग्रिम भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा रु. १,५०० सम्म छुट पाउनेछन्।
- क्रेडिट कार्ड प्रयोगकर्ताले अग्रिम भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा रु. २,००० सम्म छुट प्राप्त गर्न सक्नेछन्।
छुट प्राप्त गर्न ग्राहकले आफ्नो कार्डमा ई- कमर्स सेवा सक्रिय गराउनुपर्नेछ। यसका लागि बैंकका कुनै पनि शाखाबाट सजिलै सक्रियता गर्न सकिन्छ।
नेपाल बैंकले डिजिटल नेपाल अभियानलाई समर्थन गर्दै ग्राहकहरूलाई सुरक्षित, सहज र प्रविधिमैत्री वित्तीय पहुँच उपलब्ध गराउँदै आएको छ। यसरी बैंकले ग्राहकहरूको दैनिक जीवनलाई अझ सहज बनाउने उद्देश्यसहित अनलाइन भुक्तानी प्रणालीमा आफ्नो अग्रणी भूमिका विस्तार गरिरहेको छ।






प्रतिक्रिया