२०८१, ३० फाल्गुन शुक्रबार

अमेरिकाले भन्यो-उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठायो

अमेरिकाले भन्यो-उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठायो


काठमाडौं: वासिङ्टनले उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठाएको र सम्भवतः केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको बताएको छ । सोलले मङ्गलबार चेतावनी दिँदै यो तीव्र तैनाथीले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’ उत्पन्न गरेको बताएको छ । सोलले लामो समयदेखि आणविक–सशस्त्र उत्तर कोरियाले मस्कोलाई किभविरुद्ध लड्न हतियार पठाएको आरोप लगाउँदै आएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि प्योङयाङले ठूलो सङ्ख्यामा सैनिक तैनाथ गर्न थालेको सोलको आरोप छ । उत्तर कोरियाले सैनिक पठाएको अस्वीकार गरेको छ । यद्यपि गत हप्ता सरकारी मिडियामा पहिलो टिप्पणीमा उत्तर कोरियाली उपविदेशमन्त्रीले यस्तो तैनाथी भएमा यो अन्तर्राष्ट्रिय कानून अनुरूप हुने बताएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले उत्तर कोरियाले ‘चाँडै’ रुसी भूमिमा १२ हजारसम्म सैनिक पठाउन सक्ने चेतावनी दिएका थिए। जबकि अमेरिकी राष्ट्रपति जो बाइडेनले यस तैनाथीलाई ‘अत्यन्त खतरनाक’ भन्दै आलोचना गरेका छन् । पेन्टागनकी उप प्रेस सचिव साब्रिना सिंहले पत्रकारहरूलाई बताएअनुसार उत्तर कोरियाले पूर्वी रुसमा तालिमका लागि कूल १० हजार सैनिक पठाएको छ र यसले सम्भवतः आगामी केही हप्तामा युक्रेन नजिक रुसी सेनालाई बढाउनेछन् ।

नाटो प्रमुख मार्क रुटले यो तैनाथी ‘रुसको युद्धको खतरनाक विस्तार’ हो, र यो ‘पुटिनको बढ्दो निराशाको सङ्केत’ हो भने। रुटका अनुसार द्वन्द्व सुरु भएयता छ लाखभन्दा बढी रुसी सैनिक मारिएका वा घाइते भएका छन् र क्रेमलिन विदेशी समर्थन बिना आक्रमण जारी राख्न असमर्थ छ । दक्षिण कोरियाली गुप्तचर अधिकारीहरूसँगको ब्रिफिङपछि ब्रसेल्समा उहाँले उत्तर कोरियाली सैन्य एकाइहरू रुसको पश्चिमी कुर्स्क क्षेत्रमा तैनाथ गरिएको बताए ।

 उपग्रह प्रक्षेपण ?

दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले मङ्गलबार मस्को र प्योङयाङबीचको बढ्दो सैन्य सहयोग ‘अन्तर्राष्ट्रिय समुदायका लागि महत्त्वपूर्ण सुरक्षा खतरा’ भएको उल्लेख गर्दै सोलले ‘प्रतिकार्य’ बारे विचार गरिरहेको चेतावनी दिए ।

सोलका जासुसी निकायले सांसदहरूलाई दुई देशबीच तीव्र सैन्य सहयोग भइरहेको सङ्केत गर्दै उच्च पदस्थ उत्तर कोरियाली जनरलहरू पनि ‘अग्रपङ्क्तिका क्षेत्रहरूमा जान सक्ने’ बताएको छ । एएफपीले प्राप्त गरेको प्रतिलिपिअनुसार सांसदहरूलाई ब्रिफिङपछि उत्तरले मेमा असफल प्रयासपछि ‘उन्नत घटकहरू र रुसी प्राविधिक सहायता प्रयोग गरेर’ अर्को उपग्रह प्रक्षेपणको तयारी गरिरहेको चेतावनी दिएको सांसद ली सेओङ–क्वेउनले बताए।

विशेषज्ञहरूका अनुसार सैनिक पठाएबापत उत्तर कोरियाले निगरानी उपग्रहदेखि पनडुब्बीसम्मका सैन्य प्रविधि र मस्कोबाट सम्भावित सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने लक्ष्य राखेको छ । उत्तरले रुस तैनाथीबारे सूचना प्रवाहलाई आन्तरिक रूपमा पनि नियन्त्रण गरिरहेको जासुसी निकायलाई उद्धृत गर्दै लीले ली सेओङ–क्वेउनले बताए । उनले भने, “तैनाथ गरिएका सैनिकका परिवारलाई उनीहरू तालिममा छन् भनेर झुटो जानकारी दिइएको छ ।” उत्तर कोरियाको सरकारी कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाका विदेशमन्त्री यस साता मस्को जानुभएको छ । यद्यपि कुनै विवरण दिइएको छैन ।

बढ्दो खतराहरू

प्रमुख हतियार निर्यातक दक्षिण कोरियाले युक्रेनलाई सिधै हतियार आपूर्ति गर्ने बारेमा पुनर्विचार गर्ने यसअघि नै बताएको थियो । पुनर्विचार गर्न उसका पश्चिमी सहयोगीहरूले लामो समयदेखि माग गर्दै आएका थिए । सोलले अहिलेसम्म लामो समयदेखिको घरेलु नीतिका कारण यो कदम चाल्न अस्वीकार गर्दै आएको छ ।

सोलले पहिले नै किएभको एक प्रमुख सहयोगी पोल्यान्डलाई अर्बौँ डलर मूल्यका ट्याङ्क, तोप, आक्रमण विमान र रकेट लन्चर बेचिसकेको छ । युरोपेली सङ्घ (इयु) की प्रमुख उर्सुला भोन डेर लेयनले पनि उत्तर कोरियाले पहिलो पटक सैनिक पठाउनु ‘युक्रेनविरुद्धको युद्धको महत्त्वपूर्ण वृद्धि हो र यसले विश्व शान्तिलाई खतरामा पार्छ’ भन्दै चेतावनी दिएकी छन् ।

उनले दक्षिण कोरियाली राष्ट्रपति युनसँगको टेलिफोन वार्तापछि यस घटनाक्रमप्रति इयुको प्रतिक्रिया दक्षिण कोरिया र अन्य समान विचारधारा भएका साझेदारहरूसँगको सहकार्यमा केन्द्रित हुने भन्दै राष्ट्रपतिलाई आश्वस्त पारिन् । त्यसैगरी संयुक्त राज्य अमेरिकाले मस्को र प्योङयाङ दुवैको सहयोगी चीनलाई ‘आफ्ना दुई छिमेकी रुस र उत्तर कोरियाको यस अस्थिरकारी कार्यप्रति चिन्तित हुनुपर्छ’ भनेको विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले पत्रकारहरूलाई बताए ।

प्रकाशित मिति : २०८१, १३ कार्तिक मंगलबार  ८ : ३७ बजे

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक