हुम्ला, १७ पुस : हिमाली जिल्ला हुम्लालाई बाँकी देशसँग सडक सञ्जालमा जोड्न नेपाली सेनाले कर्णाली करिडोर छिचोल्न सुरु गरेको ६ वर्षमा ९० प्रतिशत सडकमा गाडी गुड्न थालेको छ । गाउँनजिकै गाडी पुग्न थालेपछि हुम्लावासी खुसी भएका छन् भने बाँकी काम पनि सेनालाई दिन माग गरेका छन् ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि हुम्ला सदरमुकाम सिमकोट जोड्ने एक सय ३७ किलोमिटर सडकको ९० प्रतिशत ट्रयाक खुलेको छ । कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको एक सय २२ किलोमिटर सडकमा ट्रयाक खुलेको नेपाली सेनाले जनाएको छ । ट्र्याक खुलेसँगै गाडी गुड्न थालेका छन् ।
यो सडकखण्ड निर्माणका लागि ९ चैत ०७१ मा नेपाली सेनालाई जिम्मा दिइएको थियो । कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख मेजर मिलन कार्कीले सल्लीसल्लासम्म ट्रयाक खुलेको बताए । ‘सल्लीसल्लासम्म एक सय २२ दशमलव ७५ किलोमिटर ट्रयाक खुलेको छ,’ इन्जिनियर समेत रहेका मेजर कार्कीले भने, ‘खुलालुदेखि जैर खच्चासम्म एक सय १४ किलोमिटर सेनाले पनि तेलसहित गाडी गुडाउने गरेको छ । खच्चादेखि ८ दशमलव ७५ किलोमिटरमा गाडी गुडेको छैन । त्यसमा पनि छिटै गाडी गुड्छ ।’
सेनाले एक सय २५ किलोमिटर ट्रयाक निर्माणको जिम्मा पाएको थियो । त्यसमध्ये अब दुई दशमलव दुई किलोमिटर मात्रै बाँकी रहेको मेजर कार्कीले बताए । ‘हामीलाई जिम्मा दिएको सडकखण्डको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ, अब २२ सय मिटर बाँकी छ । त्यो पनि छिटै सक्छौँ,’ उनले भने ।
अब सदरमुकाम सिमकोटलाई सडक सञ्जालमा जोड्न १५ किलोमिटर मात्रै बाँकी छ । त्यो सडकखण्डको ट्रयाक खोल्ने जिम्मा पनि सेनालाई नै दिनुपर्ने स्थानीय बासिन्दा बताउँछन् । ‘सेना आफ्नो काम सकेर फर्किने तयारीमा छ । अब बाँकी काम पनि सेनालाई दिनुपर्छ,’ अदानचुली गाउँपालिका–२ का गोर्ख बुढाले भने, ‘ठेकेदारलाई जिम्मा दिए त यो काम पनि कैयौं वर्ष लाग्छ ।’
बाँकी १५ किलोमिटर सडकखण्डमा पनि सेनालाई नै ट्र्याक खोल्ने जिम्मा दिएमा एक वर्षभित्रै हुम्ला सडक सञ्जालमा जोडिने जनाइएको छ । बाँकी खण्डको काम पनि सेनालाई नै दिए एक वर्षभित्र पूरा हुने निर्माण कार्यदलले जनाएको छ । तर, त्यसको जिम्मा अहिलेसम्म सेनालाई दिइएको छैन ।
हुम्लावासी हर्षित
कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्म ट्रयाक खुलेपछि गाडी गुड्न थालेका छन् । गाउँनजिकै गाडी आउन थालेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । गाउँनजिकै गाडी देखेका अदानचुली गाउँपालिका–२ का गोर्ख बुढाले खुसी भएको बताए । कर्णाली चिसापानी हुँदै भारतमा मजदुरी गर्न जाँदा पहिलोपटक गाडी देखेको सुनाउँदै उनले भने, ‘भारत जाँदा गाडी चढेको हुँ । हुम्लामा गाडी चढ्न पाउँछु भन्ने सोचेको थिइनँ । अब गाउँमै गाडी चढ्न पाउने भएका छौँ ।’
गाउँमै गाडी गुडेको देख्दा सपनाजस्तै भएको अदानचुली गाउँपालिकाकै अदानकला महताराले बताइन् । ‘सिमकोट जाँदा भारी बोकेर हिँड्नुपथ्र्यो । अब भारी बोक्ने दुःख सकिएलान्,’ उनले भनिन् । बाँकी काम पनि सेनालाई नै दिनुपर्ने उनको भनाइ छ ।
चार पुल निर्माण
खुलालुदेखि सल्लीसल्लासम्मको सडकखण्डमा पर्ने खोला तथा नदीमा सेनाले चार पुल पनि निर्माण गरेको छ । कालिकोटको सन्नीघाट र फुघाटमा दुईवटा पुल निर्माण भएका छन् ।
यस्तैगरी, हुम्ला र बाजुराको कबाडी खोलामा बेलिबिज्र निर्माण सम्पन्न भएको सेनाको निर्माण कार्यदलका प्रमुख कार्कीले बताए । गल्फागाडमा पनि भर्खरै पुल निर्माण भएको छ । अहिले बाजुराको जुक्तीखोलामा पुल निर्माणाधीन अवस्थामा छ । त्यस्तै, सल्लीसल्लामा पनि एउटा पुल निर्माण गर्नुपर्ने भएको छ । नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया