धुलिखेल, ६ साउनः अस्पतालले स्वाब संकलनको रिपोर्ट नदिइ घर पठाएपछि काभ्रेको डाँडापारी क्षेत्रको गोकुलेका स्थानीय त्रसित भएका छन् । महाभारत गाउँपालिकाको वडा नम्बर १ गोकुलेका ५१ बर्षीय महिला पाठेघरको उपचारका लागि पाटन अस्पताल असारको अन्तिम हप्ता पुगेकी थिइन् ।
उपचारसँगै ती महिलाको पाटन अस्पतालले स्वाब संकलन गरेको थियो । असार २९ गते स्वाब संकलनपछि अस्पतालले घर जान सल्लाह दिएको बुझिएको छ । लगत्तै ती महिला ३० गते घर पुगिन् । घर पुगे लगत्तै कोरोना संक्रमित भएको खबर आयो । त्यो बेलासम्म उनले धेरै मान्छेसँग भेटघाट गरिसकेकी थिइन् ।
पालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार ती महिलाको सम्पर्कमा आएका १६ जना पहिचान भइसकेका छन् । पालिकाले ती महिलाको सम्पर्कमा रहेका सबैलाई चिकित्सकको सम्पर्कमा आउन आग्रह गरेको छ । पालिका अध्यक्ष जिम्बाले असार ३१ गते नै ती महिलालाई गाउँबाट जिकाएर टेकु अस्पताल उपचारका लागि पठाइसकेका छन् ।
तर ती महिलाको सम्पर्कमा आएकाको भने अहिलेसम्म स्वाब संकलन हुन सकेको छैन् । ती महिलाको सम्पर्कमा आएकाहरुले अरुलाई पनि भेटेको हुनसक्ने भन्दै स्थानीयहरु त्रसित बनेका छन् । आज स्वास्थ्यकर्मी संक्रमितको गाउँमा पुग्ने पालिका अध्यक्ष जिम्बाले जानकारी दिए ।
संक्रमित महिला विदेशबाट आएकी होइनन् । गाउँघरमै बस्दै आएकी थिइन् । समुदायमै कोरोना संक्रमण फैलिएको हो की भन्ने पनि चिन्ता बढेको छ । ती महिला नै कहाँबाट संक्रमित भइन् भन्ने कुराको समेत खोजी गर्न स्थानीयले माग गरेका छन् ।








प्रतिक्रिया