काठमाडौं, ६ चैत: कोरोना भाइरसविरुद्धको लडाइँमा चीनलाई थप सफलता हात परेको छ । गत डिसेम्बरको अन्तिम सातादेखि कोरोनाविरुद्ध लडेको चीनले इपिसेन्टर वुहानमा संक्रमण शून्यमा झारेको छ । मंगलबार १३ को ज्यान गएकोमा बुधबार भने संक्रमणका कारण कसैको पनि ज्यान गएन ।
गत डिसेम्बरको अन्तिम सातादेखि देखापरेको संक्रमणले हायलकायल बनाएको वुहानमा बुधबार शून्य संक्रमण देखिएको हो । हुवेई प्रान्तको स्वास्थ्य विभागलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले बुधबार वुहानका कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको जनाएको छ ।
चीनले मृत्युदर पनि शून्यमा झारेको छ । वर्ल्डओमिटर्सका अनुसार, बुधबार चीनमा संक्रमित कसैको पनि मृत्यु भएको छैन ।
कोरोनाका कारण ३ हजार २ सय ३७ को ज्यान गएको चीनमा अझै ८० हजार ८ सय ८९ मानिस संक्रमित छन् । यीमध्ये २ हजार ६ सय २२ को अवस्था भने गम्भीर रहेको बताइएको छ ।
प्रतिक्रिया