काठमाण्डौ, ५ चैतः सरकारले कोरोना भइरस (कोभिड १९ ) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन रोक लगाएको हो ।
अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन
सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ । आज बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न आह्वान गरेको हो ।
त्यस्तै धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ । सार्वजनिक यातायातमा पनि सिट क्षमता भन्दा बढी यात्रु नबोक्न आग्रह गरेको छ ।
सिनेमा हल, जिम र डान्स बार बन्द गर्ने
सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले अप्रिल ३० सम्मलाई बन्द गर्ने निर्णय गरेको हो ।
यसको अनुगमानका लागि गृहमन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डायन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको छ ।








प्रतिक्रिया