२०८२, २८ माघ बुधबार

१६ विदेशीलाई नेपाली नागरिकता, तीन कर्मचारी निलम्बित

१६ विदेशीलाई नेपाली नागरिकता, तीन कर्मचारी निलम्बित


काठमाडौं, १७ असार : आर्थिक चलखेल गरेर १६ विदेशीलाई झापाबाट नेपाली नागरिकता दिइएको खुलेको छ । गृह मन्त्रालयको छानबिनपछि नागरिकता वितरणमा संलग्न तीन कर्मचारीलाई निलम्बन गरी थप अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन्द्र न्यौपानेलाई निलम्बन गरी छानबिन थालेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

‘छानबिन भइरहेको छ, अन्तिम प्रतिवेदन आइसकेको छैन,’ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘विदेशीले नागरिकता पाएको जानकारी आएपछि विस्तृत अनुसन्धान गर्न नेपाल प्रहरीलाई पत्र पठाएका छौँ ।’ अधिकांश नागरिकताको सनाखत खरिदार न्यौपानेले गराएको, नासु निरौलाले टिप्पणी पेस गरेको र प्रशासकीय अधिकृत ढुंगेलले जारी गरेको प्रशासन स्रोतले बतायो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप छानबिन गरिरहेको छ । एक महिनाभित्र अनुसन्धान पूरा गर्ने गरी ४ असारमा गृहले प्रहरीलाई पत्राचार गरेको हो । घटनाको छानबिनका लागि एक टोली झापामै पठाइएको सिआइबीका डिआइजी नीरज शाहीले बताए । ‘प्रारम्भिक अनुसन्धानमा उनीहरूले गैरनेपालीलाई नागरिकता दिएको देखिएको छ,’ झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘जिल्लाका विभिन्न वडाबाट सिफारिस भएर आएपछि उनीहरूले नागरिकता दिएका हुन्, अरू विषय अनुसन्धानकै क्रममा छ ।’

सूचना पाएपछि गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको नेतृत्वमा छानबिन समिति बनाएको थियो । टोली झापामै आएर छानबिन सुरु गरेको सिडिओ दाहालले बताए । अनुसन्धान टोली २२ जेठमा झापा आएको थियो । जिल्ला प्रशासन कार्यालय झापाबाट नेपाली नागरिकता लिन सफल १६ जना गैरनेपालीको सूची नै लिएर अनुसन्धान टोली झापा आएको थियो । ‘टोलीले आवश्यक सम्पूर्ण कागजात लिएर गएको छ, गृह मन्त्रालयमा छानबिन हुँदै होला,’ सिडिओ दाहालले भने ।

भारतीय, भुटानी र तिब्बतीलाई नागरिकता
स्रोतका अनुसार पाँच जनाले ०७३ र ११ जनाले जेठ ०७६ मा नागरिकता लिएका हुन् । गृहको छानबिनमा उनीहरू भारतीय, भुटानी र तिब्बती रहेको भेटिएको छ । थप पुष्टि गरेर कारबाही गर्न गृहले प्रहरीलाई पत्राचार गरेको छ । भद्रपुर नगरपालिका–९, बिर्तामोड नगरपालिका–८ र साविकको शरणामति गाविसबाट उनीहरूलाई नागरिकता दिन सिफारिस गरिएको पाइएको जिल्ला प्रशासन स्रोतले जनायो ।

भद्रपुर–९ का वडाध्यक्ष शनिलाल राजवंशी हाल नियमित वडाकै काममा सक्रिय छन् । तर, केही दिनयता कार्यालयमा उपस्थित नभएका बिर्तामोङ–८ का वडाध्यक्ष अजय कार्की भारतमा रहेको स्रोतले जनायो । नागरिकता दिलाउन उनले गैरनेपालीलाई आफैँ गाडीमा राखेर जिल्ला प्रशासन कार्यालयसम्म लैजाने गरेको छानबिनमा खुलेको छ । शरणामति गाविसबाट सिफारिस गरिएका नागरिकता सबै गुरुङ थरबाट लिइएका छन् । सबै नागरिकतामा बाबुआमाको नामसमेत एउटै कायम गरिएको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले बताए ।

नागरिकता प्रकरणमा वैशाखमा दुई पक्राउ
गत वैशाखमा नेपाली नागरिकता लिने क्रममा एक भारतीयसहित दुई व्यक्ति जिल्ला प्रशासन कार्यालय झापाबाटै पक्राउ परेका थिए । १० वैशाख अपराह्न ४ बजे जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गौरव ढुंगेलले भारतको कानपुर जिल्ला, चमरमैना थाना मणिपुर बस्ने ३६ वर्षीय भूपाल गुरुङलाई प्रहरीको जिम्मा लगाएका थिए । उनको साथबाट प्रहरीले भारतको भोटर कार्डसमेत बरामद गरेको थियो ।

तिनै अधिकृत ढुंगेल गैरनेपालीलाई नागरिकता दिएको प्रकरणमा अहिले निलम्बनमा परेका छन् । सोही दिन गुरुङको नागरिकतामा सनाखत गर्न गएका झापा कचनकवल गाउँपालिका–२ का ५५ वर्षीय बमबहादुर गुरुङ पनि पक्राउ परेका थिए । भूपाललाई आफ्नो छोरो बताउँदै बमबहादुर सनाखत गर्न गएका थिए । पक्राउ परेका सबैलाई कारागार चलान गरिएको छ । कचनकवल गाउँपालिका–२ का वडाध्यक्ष मेखबहादुर भट्टराईले भूपालको नागरिकताका लागि सिफारिस बनाइदिएका थिए । वडासचिव हरि गौतमले जन्मदर्ता र सर्जिमिन मुचुल्का गरेको खुलेको थियो । सजिर्मिन गर्न पाँच स्थानीयको संलग्नता पनि भेटिएको थियो ।

प्रकाशित मिति : २०७६, १७ असार मंगलबार  ७ : ११ बजे

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको

झापामा अध्यक्ष ओलीको घरदैलो : मतदाताका कुरा सुन्दै, आफ्ना प्रतिबद्धता सुनाउँदै

झापा। नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का

काभ्रे-१ मा ‘अमित लामाको पक्षमा जनलहर’ आफ्नै जन्मभूमि रोशीमा घरदैलो अभियान जारी

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रे क्षेत्र नं.

आज गाैरादहमा एमाले अध्यक्ष ओलीको स्थानीयसँग भेटघाट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार