काठमाण्डौ, २१ चैत: प्रधानमन्त्री केपी शार्मा ओलीले सात वटै प्रदेशका मूख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । बिहिबार विहान भएको छलफलमा प्रदेश १ का मूख्य मन्त्री शेरधन राई, २ का लालबाबु राउत, ३ का डोरमणी पौडेल, गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङ सहभागि थिए ।
त्यस्तै प्रदेश ५ का मूख्यमन्त्री शंकर पोख्ररेल, सुदुरपश्चिम प्रदेशका त्रिलोचन भट्ट र कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहि सहभागि थिए ।
छलफलमा मुख्यमन्त्रीहरुले अन्तर प्रदेश समन्वय परिषदको बैठकमा भएका २९ बुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । गत २३ मंसिरमा सिंहदरबारमा अन्तरप्रदेश समन्वय परिषदको बैठक बसेको थियो ।
बैठकमा मुख्यमन्त्रीहरुले प्रदेशको बजेट न्युन भएकाले त्यसलाई बढाउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रदेश २ का मुख्यमन्त्री राउतले कम्तिमा ३३ प्रतिशत बजेट प्रदेश सरकारले पाउनुपर्ने बताए ।
बैठकमा प्रदेश २ का बारा र पर्सा जिल्लामा आँधीहुरीले पुर्याएको क्षतिको पुनर्निर्माण, राहत वितरण तथा पीडितको पुनःस्थापनालाई पनि तीव्रता दिने सहमति भएको छ । पीडितका लागि के गर्न सकिन्छ भनेर प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग राय मागेका थिए ।
मुख्यमन्त्रीहरुले बजेटको न्यायोचित वितरण तथा स्थानीय र प्रदेश सरकारबीच समन्वयमा जोड दिएका हुन् । प्रधानमन्त्रीले आफूहरुको कुरालाई सकारात्मक रुपमा लिएको र छिट्टै स्थानीय, प्रदेश र संघबीच समन्वय गरेर अगाडि बढ्न राष्ट्रिय समन्वय परिषदको बैठक बोलाउने आश्वासन दिएको मुख्यमन्त्रीहरुले बताएका छन् ।
अन्तर प्रदेश समन्वय परिषदको बैठक आगामी बैशाख १२/१३ गतेभित्र बोलाउने प्रधानमन्त्रीको भनाइ रहेको प्रदेश १ का मुख्यमन्त्री राईले जानकारी दिए ।








प्रतिक्रिया