काठमाण्डौ, चैत १८ः निकै तिब्र गतिमा काम भइरहेको राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको पुष्पलाल मध्यपहाडी लोकमार्गको काभ्रे खण्ड समय अगाबै सकिने भएको छ ।
काभ्रे खण्डमा चौरीदेउराली गाउँपालिका वडा नम्बर ७ दोभानटारबाट लोकमार्ग शुरु हुन्छ । लोकमार्गको दोभानटार देखि कात्तिकेदेउरालीको बोक्सेसम्मको २५ किलोमिटर सडक स्वच्छन्द, बन्दन, भगवती र खानी जेभी कम्पनीले निर्माण गरिरहेका छन् । २०७७ साल भदौ महिनमा काम सकाउने गरी ठेक्का पाएका यी कम्पनीले ७० प्रतिशतको हाराहारीमा काम सकाइसकेका छन् । भ्याट बाहेक ८२ करोड, ९९ लाख ठेक्का रकममा काम भइरहेको धुलिखेलमा रहेको पुष्पलाल मध्यपहाडी सडक आयोजना कार्यालयले जनाएको छ ।

त्यस्तै कात्तिकेदेउरालीको पार्टीगैह्राबाट भूम्लुगाउँपालिकाको वडा नम्बर ८ पौवाडाँडासम्मको १७ किलोमिटर सडक ट्याक्ट खन्ने काम पनि निकै तिब्र गतिमा भइरहेको आयोजनाका इन्जिनियर इश्वर कार्कीले बताए । यो क्षेत्रमा कालिका प्यासिफिक जेभी निर्माण कम्पनीले भ्याट बाहेक ३८ करोड ३९ लाख रुपैँयामा ठेक्का पाएको छ । २०७७ भदौँ मसान्तभित्र सक्ने गरी काम गरिरहेको यस खण्डको प्रगति पनि ५० प्रतिशत भन्दा बढी रहेको छ ।
त्यसैगरी पौवाडाँडादेखि काभ्रे र सिन्धुपाल्चोकको सिमाना बन्देउ खण्डको ६ किलो मिटर सडक निर्माण पनि भइरहेको कार्यालयका सुचना अधिकारी समेत रहेका आयोजनाका इन्जिनियर कार्कीले बताए । यो खण्डमा अकेला र महादेव खिम्ती जेभीले २०७६ फागुन मसान्तभित्र काम सक्ने गरी भ्याट बाहेक १४ करोड ८१ लाख रुपैँयामा ठेक्का पाएका छन् ।
काभ्रे खण्डमा पिच बाहेकका सबै काम सकाउन ठेक्का लगेको हो । यी कम्पनीले साँढे आठ मिटर फराकिलो सडक, ग्राभेल, टेवा पर्खाल, कुलेसा, हिमपाई बिछ्याउने काम सकाउने छन् । ‘पिचको लागि छुट्टै ठेक्का हुन्छ, इन्जिनियर कार्कीले भने अहिले ग्राभेलसम्मको पुरा हुन्छ ।’ उनका अनुसार निर्माण स्थलमा ठूलो समस्या नआए अहिलेको प्रगति हेर्दा समय अगाबै निर्माण कार्य पूरा हुन्छ ।
आयोजना अन्तर्गत काभ्रे खण्डमा ७ मिटर मात्रै ट्याक जोडिन बाँकी छ । कोशीपारी क्षेत्रमा सुनकोशी तेस्रो जलविद्यूत आयोजनाका कारण सडकको ट्याक नै परिवर्तन गरिएको छ । सुरुमा सर्भे गर्ने क्रममा सुनकोशीको तिरै तिर सर्भे गरिएको थियो । तर जलविद्यूत आयोजना निर्माण गरिने भएपछि ट्याक परिवर्तन गरिएको सडक आयोजनाका इन्जिनियर कार्कीको भनाई छ ।
उता सिन्धुपाल्चोकमा भने पिच सहिको ठेक्का सम्झौता भएर काम अघि बढेको छ । बन्देउदेखि होष्टेखोलासम्मको १७ किलोमिटर सडक निर्माणको काम लामा, डाँफे र गोल्डेन गुड जेभी कम्पनीले गरिरहेका छन् । २०७७ जेठ मसान्तभित्र पिच सहितको काम सकिने गरी ठेक्का सम्झौता भएको हो । भ्याट बाहेक ४८ करोड ८३ लाख रुपैयाँमा सडक निर्माणको काम चलिरहेको छ ।
त्यसैगरी होष्टेखोला देखि बाहुनेपाटीसम्मको १४.५ किलोमिटर सकड पनि लामा, डाँफे, गोल्डेन गुड जेभी कम्पनीले नै बनाइरहेका छन् । २०७७ जेठ मसान्तभित्रै कालोपत्रे सहितका काम सकिने गरी निर्माण भइरहेको यस क्षेत्रमा ४६ करोड ६ लाख खर्च हुने आयोजनाका इन्जिनियर इश्वर कार्कीले बताए ।
सडक विभागले पुष्पलाल मध्यपहाडी लोक मार्गको पाँच जिल्ला काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली र खोटाङ जिल्ला हेर्ने गरी धुलिखेलमै कार्यालय स्थापना गरेको छ । यसअघि काठमाण्डुबाटै आयोजनाको रेखदेख गर्ने गरिएको थियो । पाँच जिल्लामा २६ वटा ठेक्का सम्झौता भएर काम चलिरहेको छ । बिजुलीको पोल सार्ने, मुआब्ज, वन लगायत स्थानीयहरुले विभिन्न माग राखेर बेला बेला निर्माण कार्यमा अवरोध पुर्याएपनि कामको गति सन्तोषजनक पाइएको छ ।
प्रतिक्रिया