२०८२, ७ चैत्र आईतबार

धुलिखेलमा ‘सुपरम्यान फ्लाइङ’

धुलिखेलमा ‘सुपरम्यान फ्लाइङ’


धुलिखेल, २८ फागुन: प्याराग्लाइडिङ, बञ्जी जस्तै साहसिक खेल ‘जिप लाइन’को मजा लिन अब उपत्यकावासीका लागि धेरै टाढा धाउनु पर्दैन । काठमाडौँबाट झण्डै ३३ किलोमिटर दूरीमा पर्ने पर्यटकको आकर्षक गन्तव्य काभ्रेपलाञ्चोकको धुलिखेलमा साहसिक खेल ‘जिप लाइन’ले सेवा दिन थालेको छ । कास्कीको पोखरापछिको नेपालकै दोस्रो उक्त खेल यही फागुनदेखि सञ्चालनमा आएको हो । नेपाल आउने पर्यटकले औधी रुचाउने ‘सुपरम्यान फ्लाइङ’ भने नेपालकै पहिलो भएको सञ्चालक केदार थापाले बताउनुभयो ।

धुलिखेलको थाक्लेडाँडादेखि शुरु हुने जिप लाइन पाँचखालको खावामा पुगेर अन्त हुन्छ । आज अपराह्न पुष्कर भण्डारी र मनोज श्रेष्ठले जिप लाइनको मजा लिँदै भन्नुभयो, “औधी रमाइलो भयो, साहसिक खेलमा रमाउने पर्यटकका लागि महत्वपूर्ण कार्यक्रम हो, अझ ‘सुपरम्यान’ उड्दा थप मजा आउँछ ।” कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेसमा बसी पर्यटकले चराको पखेटा झैँ हात फैलाएर ‘सुपरम्यान फ्लाइङ’ गर्छन् । यसरी खेल्दा करीब एक मिनेट हावामा उडेको महसुस हुन्छ । माथिबाट जङ्गल फाँट, घर साथै विभिन्न दृष्यावलोकन गर्दा छुट्टै आनन्द आउने पर्यटक बताउँछन् ।

फलामको लठ्ठा (डोरी) मा घिर्नी जोडेको हुन्छ । त्यही घिर्नीमा विशेष प्रकारको फितामा झुण्डिएर पर्यटक माथिबाट तल झर्छन् । हावाको वेगमा प्रकृतिको आनन्द लिनका लागि यो खेल अति महत्वको छ । “औपचारिक उद्घाटन भएको त छैन, तर हामीले विगत एक महीनादेखि सञ्चालमा ल्याएका छौँ, अर्को हप्ता उद्घाटन गर्ने योजना छ”, सञ्चालक थापाले भन्नुभयो ।

उहाँका अनुसार पर्यटकीय क्षेत्र धुलिखेलको नजिकै र भोटेकोशीमा हुने साहसिक खेललगायत ठाउँमा जाने आउने बाटो अरनीको राजमार्ग भएकाले त्यसको समिपमा जिप लाइन शुरु गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वल्ड वाइड एड्भेन्चर प्रालिले शुरु गरेको जिपलाइन उद्घाटन नहुँदै देशका विभिन्न जिल्लासहित चीन, कोरिया, हङ्कङ, अमेरिका र स्वीजरल्याण्डका पर्यटकले साहसिक खेलको मजा लिइसकेको थापाले बताउनुभयो । धुलिखेल जिपलाइन परियोजनाअन्तर्गत अहिलेसम्म यहाँ रु चार करोड ७५ लाख लगानी भइसकेको र अझै निर्माणका क्रममा रहेकाले करीब रु सात करोड लाग्ने अनुमान गरिएको अर्का सञ्चालक काठमाडौँका भुपेश श्रेष्ठले बताउनुभयो । उक्त परियोजनाको निर्माण कार्य गत साउनदेखि शुरु गरिएको थियो । यहाँ साना बालबालिकाका लागि छुट्टै जिपलाइन छ । यस्तै चिल्ड्रेन एड्भेञ्चर क्याम्पसहित, रिसोर्ट निर्माणाधीन छ ।

धुलिखेलको थाक्लेडाँडादेखि पाँचखालको खावासम्म सञ्चालन हुने जिप लाइन दूरी करीब एक हजार १०० मिटरको छ । समुद्रसतहदेखि एक हजार ३०० मिटर उचाइबाट शुरु भएर एक हजार २०० मिटरको सतहमा अन्तिम स्टेशन छ । फ्लाइङको गति प्रतिघण्टा ६० किलोमिटरदेखि अधिकतम ९५ किलोमिटरको हुने प्राविधिकले बताएका छन् । बढीमा एक मिनेट २० सेकण्डको समयमा मज्जा लिन सकिने उक्त साहसिक खेलको महत्वपूर्ण भनेको ‘सुपरम्यान’ हो ।

यहाँबाट दैनिक ६० जनासम्मले सेवा लिनसक्ने सञ्चालक श्रेष्ठले बताउनुभयो । युरोपियन र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित भई अष्ट्रिया र भारतीय प्रविधिमा आधारित जिप लाइन सञ्चालाका लागि दुई भारतीय प्राविधिकसहितको टोली छ । समयसमयमा भोटेकोशीको बञ्जीजम्पको निरीक्षण गर्दै आएका प्राविधिकले प्राविधिक परीक्षण गर्ने गरेका छन् ।

तेह्र वर्ष उमेर माथिकालाई माथिल्लो स्टेशनमा र १३ वर्षभन्दा कम उमेरका बालबालिकाले खावास्थित तल्लो स्टेशनमा जिप लाइनको मज्जा लिन सक्नेछन् । पन्ध्र वर्षका लागि २० रोपनी क्षेत्रफल भाडामा लिएर साहसिक खेल शुरु गरिएको यहाँ साधारण जिप लाइन, सुपरम्यान र टेन्डम (जोडी) यात्रा गर्ने सुविधा छ । खेलमा सहभागी हुने पर्यटकका लागि रु पाँच लाखको दुर्घटना बीमा गरिएको छ । प्रतिपर्यटक साधारणतर्फ रु दुई हजार ५००, सुपरम्यानको तीन हजार ५०० र जोडी यात्राको रु चार हजार ५०० मूल्य छ ।
-रासस

प्रकाशित मिति : २०७५, २८ फाल्गुन मंगलबार  ७ : १५ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको