काठमाडौं । सुन तस्करीको नयाँ र अनौठो शैली सार्वजनिक भएको छ। मलद्वारदेखि भित्री वस्त्रसम्म सुनजस्तो देखिने पदार्थ लुकाएर नेपाल भित्र्याउने दुई चिनियाँ महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चीनको ग्वाङ्दोङकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन जिनपिङ रहेका छन्।
प्रहरीका अनुसार उनीहरू सोमबार राति ११ः१५ बजे क्याथे प्यासिफिक एयरलाइन्समार्फत हङकङबाट काठमाडौं आएका थिए। विमानस्थलको भन्सार क्षेत्र पार गरी बाहिरिने क्रममा जाँच गर्दा उनीहरूले शरीर र भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर लुकाएको अवस्थामा आठ थान गोलाकार अर्धठोस पदार्थ फेला परेको हो।
बरामद पदार्थको प्लास्टिकसहित कुल तौल २ किलो ३४८ ग्राम रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक रूपमा सुनजस्तो देखिएको उक्त पदार्थको वास्तविक प्रकृति भने परीक्षणपछि मात्र पुष्टि हुनेछ।
पक्राउ परेका दुवै महिलामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ।







प्रतिक्रिया