२०८३, २४ भाद्र बिहीबार

सार्वजनिक बसमा तपाईँको यात्रा कस्तो हुन्छ ?

सार्वजनिक बसमा तपाईँको यात्रा कस्तो हुन्छ ?


काठमाडौँ, १६ फागुन: काठमाडौँ उपत्यकामा सार्वजनिक बसमा तपाईँको यात्रा कस्तो हुन्छ ? खचाखच ठेलामठेल हुने गरी सिट क्षमताभन्दा बढी यात्रु, यात्रु भित्र ठेल्दै अनि ओराल्दै गर्ने सहचालक, सहचालकलाई धेरै यात्रु बोलाउन हौस्याउने चालक, बसभित्र असरल्ल सुन्तला, बदामका बोक्रा, पानीका बोतल र धुलो । यात्रुले भोग्ने प्राय समस्या यिनै हुन् ।

तर आज काठमाडौ भक्तपुर रुटमा गाडी चलाउने एउटा यस्ता चालक भेटिए जो चालक नभइ सरसफाइ अभियानकर्मी हुन् कि भन्ने जोकोहीलाई लाग्नसक्छ । काठमाडौँ बागबजार बसपार्कबाट गाडी छुट्न लाग्दा आफ्नो सिटबाटै सानो माइकमा उद्घोष गर्छन्, “यहाँहरुलाई स्वागत छ । सूचना÷प्लेकार्डको सन्देश पढ्नुहोला । गाडीमा पानी, चाउचाउको पनि व्यवस्था छ । पैसा तिरेर किन्न सक्नुहुन्छ । तर फोहोर ढोका नजिकैका डस्टबिनमा राख्नुहोला । धन्यवाद”

यति भन्दै गर्दा यात्रु भित्र पसेपछि गाडीको ढोका आफै बन्द हुन्छ । बसमा सहचालक छैन । हँसिलो मुहार सहितको उनको यो स्वागत तथा जानकारी सुन्दा लाग्छ यो यात्रुलाई विशेष सुविधा सहितको डिलक्स बस हो र कतै कुनै पर्यटकीय क्षेत्रमा घुम्न लाँदैछ । तर तेसो होइन । यो त सामान्य मिनिबस हो –बा ४ ख २७२४ नम्बरको, जुन काठमाडौ बागबजारबाट नयाँबाटो भक्तपुर, क्यान्सर हस्पिटलहुदै ब्यासी रुटमा चल्दै आएको छ ।

यी बस चालक भक्तपुरका गंगाराम खाइजु हुन् । दुई दशक अनुभवपछि उनले यो नयाँ प्रयोग गरेका हुन् । सन्देशमूलक प्लेकार्डले भरिभराउ उनको यो बसमा खानेपानी र चाउचाउ पनि उपलब्ध छ । खान मनलाग्ने जो कोहि यात्रुले किनेर खान सक्छन् । तर प्लास्टिकका बोतल, चाउचाउको खोल भने बसभित्र फ्याँक्न मनाही छ ।

उनको बसको अघिल्तिर भित्ताको प्लेकार्डमा लेखिएको छ – ‘फलफूल, कुरकुरे, लेज, बदाम तथा अन्य खाद्यवस्तुबाट बोक्रा, प्लाष्टिकजस्ता फोहोर वस्तु डष्टविनमा हाली आफूलाई सभ्य नागरिकको पहिचान दिऊ ।’ ‘पानी प्रति बोतल रु २० तथा चाउचाउ प्रति प्याकेट रु २० मा उपलब्ध छ ।’ यो बसमा चाउचाउको खोल, बदामको बोक्रा, प्रयोग गरेको पानीको बोतल राख्न चालक खाइजुले ढोकाको छेउमा डस्टबिन पनि राखेका छन् ।

तपाईँकोमा सहचालक छैन नि भन्ने प्रश्नमा उनले भने– गाडीको ढोका अटोमेटिक खुल्छ, बन्द हुन्छ । नौ महिना भयो मैले सहचालक राख्न छोडेको । सहचालक राख्दा यात्रु ढोकामा झुण्डिने, ढोकानिर बढी भिड हुने र दुर्घटना पनि हुनसक्ने भएकोले मैले स्वचालित ढोका प्रयोगमा ल्याएँ ।

यो बसका अरु सन्देशमूलक प्लेकार्डहरु यस्ता छन् –‘गाडीबाट निस्कने फोहोर धुलोलाई जथाभावी नफालौँ, प्रत्येक गाडीमा डस्टबिनको प्रयोग गरौँ, व्यवसायी चालक सहचालकज्यूहरुलाई अनुरोध गर्दछु । धन्यवाद’ । ‘गाडी भाडा आफू चढेको ठाउँ भनेर चालकलाई दिनुहोला ।’ रु एक हजार तथा रु ५०० को रकम भए खुद्राको लागि पहिले नै चालकलाई भन्नुहोला ।’

उनको यो जानकारी तथा सन्देशले यात्रुलाई रमाइलो नलाग्ने कुरै भएन । बसका यात्रु सुजन सुवेदी भन्छन्– “म यो बसमा दोश्रो पटक यात्रा गर्दैछु । म यी प्लेकार्डमा लेखिएका सन्देशबाट निक्कै प्रभावित भएँ ।” त्यसैगरी अर्की यात्रु निशा मगर भन्छिन्, “मलाई यी सन्देश पढ्दा निक्कै रमाइलो लाग्यो । वास्तवमा सबै वसमा यस्तै हुनु पर्ने हो । यसबाट हामी यात्रु पनि सुध्रनु पर्छ जस्तो लाग्छ ।” चालक खाइजू आफू काठमाडांै उपत्यकाको फोहोर देखेर दिक्क लागेको बताउछन् । उनी थप्छन्, “यदि हरेक व्यक्तिले आ–आफ्नो ठाउँबाट सरसफाइका लागि सानो प्रयास गरे पनि राम्रो हुन्छ जस्तो लाग्छ ।”
-रासस

प्रकाशित मिति : २०७५, १६ फाल्गुन बिहीबार  ८ : ०२ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको